



उदयपुर । विभिन्न कम्युनिष्ट धारबीचको एकतापछि उदयपुरमा नेपाली कम्युनिष्ट पार्टीको ४९९ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । गाईघाटस्थित होटल टाउनको सभाहलमा सम्पन्न जिल्ला एकता भेलाले विनोद खड्काको संयोजकत्व र दोर्ण पौडेलको सहसंयोजकत्वमा जिल्ला कमिटी घोषणा गरेको हो ।
घोषणासँगै नवगठित जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरूले सपथ ग्रहण गरेका छन् । पार्टीका कोशी प्रदेश इन्चार्ज तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले नवनिर्वाचित कमिटीलाई सपथ गराउँदै पार्टीलाई जनस्तरसम्म विस्तार गर्न आग्रह गरे ।
एकता भेलापछि आयोजित प्रशिक्षण कार्यक्रममा पार्टीका प्रदेश संयोजक हर्कबहादुर नेम्वाङ (मिक्सो), प्रदेश सहइन्चार्ज सावित्राकुमार काफ्ले, सहइन्चार्ज पर्शुराम बस्नेतलगायतका नेताहरूले प्रशिक्षण दिएका थिए । उनीहरूले कम्युनिष्ट शक्तिहरूको एकताले नयाँ राजनीतिक सम्भावना सिर्जना गरेको उल्लेख गर्दै संगठनलाई वडा र टोलसम्म सुदृढ बनाउन तथा आगामी स्थानीय तह निर्वाचनको तयारीमा सक्रिय हुन कार्यकर्तालाई निर्देशन दिएका थिए ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा नेपाल, नेकपा (विप्लव समूह) लगायतका दलहरूको एकतापछि गठन भएको जिल्ला कमिटीले उदयपुरमा पार्टीका गतिविधिलाई औपचारिक रूपमा अघि बढाएको जिल्ला संयोजक विनोद खड्काले जानकारी दिए । भेलामा सहभागीहरूले विभिन्न कम्युनिष्ट धारबीचको एकतालाई जिल्लाको राजनीतिक परिवेशमा महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गर्दै यसले आगामी दिनमा संगठन विस्तार र जनसम्पर्क अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन् ।
भिडियोः