वन पैदावार अध्यक्ष सेढाईले संस्थालाई दुरुपयोग गरेको भन्दै पदाधिकारीहरुद्धारा संयुक्त राजीनामा

उदयपुर । नेपाल वन पैदावार उद्योग व्यवसायिक संघ उदयपुरका अध्यक्ष सुशील सेढाईंले आफूखुसी संस्थाको दुरुपयोग गरेको आरोप लगाउँदै संस्थाका पदाधिकारीहरूले संयुक्त रूपमा राजीनामा दिएका छन् ।

राजीनामा दिनेहरुमा संस्थाका महासचिव ढकबहादुर विष्ट, सचिव फडिन्द्रबहादुर के.सी. र कोषाध्यक्ष अच्युतनन्द चौधरी रहेका छन् । बुधबार संयुक्त एक विज्ञप्ति जारी गर्दै उनीहरूले अध्यक्ष सेढाईंले कार्यसमितिको कुनै पनि निर्णय वा परामर्शबिना संस्थाको लेटरप्याड र छाप दुरुपयोग गर्दै आएको आरोप लगाएका छन् ।

विज्ञप्तिमा अध्यक्ष सेढाईंले विभिन्न सरकारी कार्यालयमा आफ्नो मनोमानी ढंगले उजुरी दिने तथा व्यक्तिगत लाभ हुने स्थानमा संस्थाको लेटरप्याड र छाप प्रयोग गर्दै आएको समेत उल्लेख गरिएको छ । यस विषयमा पटक–पटक अध्यक्ष सेढाईंलाई सचेत गराउँदा पनि उनले बेवास्ता गरेकाले आफूहरू संयुक्त रूपमा राजीनामा दिन बाध्य भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा उनीहरूले आजकै (विज्ञप्ति जारी भएको)मितिदेखि संस्थाका कुनै पनि चलअचल सम्पत्तिको जिम्मेवारी आफूहरूको नरहेको समेत जानकारी गराएका छन् । बिज्ञप्ती नेपाल वन पैदावार उद्योग व्यवसायिक संघ कोशी प्रदेशको कार्यालय र नेपाल वन पैदावार उद्योग व्यवसायिक संघ केन्द्रीय कार्यालय काठमाण्डौंमा बोधार्थ गरिएको छ ।

विज्ञप्तीः

Facebook Comments Box