उदयपुरमा सगरमाथा मल्टीस्पेशालिटी हस्पिटल सञ्चालनमा, विशेषज्ञ सेवासहित २४ घण्टा आकस्मिक सेवा उपलब्ध


उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–११, असारी रोडमा सगरमाथा मल्टीस्पेशालिटी हस्पिटल सञ्चालनमा आएको छ । निजी क्षेत्रको लगानीमा स्थापना गरिएको अस्पतालको औपचारिक उद्घाटनसँगै स्वास्थ्य सेवा सुरु गरिएको हो ।

अस्पतालको उद्घाटन त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतले रिबन काटेर गरेका थिए । उद्घाटन कार्यक्रममा नगर प्रमुख बस्नेतले स्थानीयस्तरमै गुणस्तरीय र सुविधासम्पन्न स्वास्थ्य सेवा उपलब्ध गराउन निजी क्षेत्रबाट अस्पताल सञ्चालन हुनु सकारात्मक भएको बताए ।

अस्पतालका सञ्चालकका अनुसार अस्पतालमा आधुनिक प्रयोगशाला, २४ घण्टा आकस्मिक सेवा, दैनिक ओपीडी, रेडियोलोजी, शल्यक्रिया, आईसीयू, स्त्री तथा प्रसूति सेवा र अर्थोपेडिकलगायतका सेवा उपलब्ध हुनेछन् ।

अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत ज्येष्ठ नागरिकका लागि बेड भर्ना शुल्क निःशुल्क गर्ने जनाएको छ । यस्तै, शहीद परिवार, राष्ट्रसेवक कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी तथा जनआन्दोलनका घाइतेलाई बेड भर्ना शुल्कमा ५० प्रतिशत र प्रयोगशाला सेवामा २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

अस्पताल सञ्चालनमा आएसँगै उदयपुरका नागरिकले विशेषज्ञ चिकित्सकीय सेवाका लागि बाहिरी जिल्लामा जानुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ ।

Facebook Comments Box