



त्रियुगा । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १६ जाल्पा चिलाउनेले वडाको पञ्चवर्षीय आवधिक योजना निर्माणसम्बन्धी दुईदिने कार्यशाला सम्पन्न गरेको छ । वडाको आयोजनामा असार १४ र १५ गते वडा कार्यालयमा आयोजित सो कार्यशाला सम्पन्न भएको हो ।
कार्यशालामा स्थानीय राजनीतिक दल, सरकारी तथा गैरसरकारी संस्था, टोल विकास संस्था, विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक वन उपभोक्ता समिति, अन्य सामुदायिक सङ्घसंस्था, महिला स्वास्थ्य स्वयंसेविका तथा बाल क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको वडाअध्यक्ष मानबहादुर राईले बताए ।
वडाअध्यक्ष राईका अनुसार वडाले आर्थिक वर्ष २०८३/०८४ देखि २०८८/०८९ सम्मको पञ्चवर्षीय आवधिक योजना निर्माणका लागि प्रारम्भिक खाका तयार गरिएको छ । गत आर्थिक वर्षदेखि सुरु गरिएको आवधिक योजना निर्माण प्रक्रियालाई यस कार्यशालामार्फत थप व्यवस्थित बनाइएको हो ।
कार्यशालामा सहभागीहरूलाई विभिन्न विषयगत समूहमा विभाजन गरी वडाको वर्तमान अवस्थाको विश्लेषण, आवश्यकता पहिचान तथा आगामी पाँच वर्षका लक्ष्य, अपेक्षित उपलब्धि र सूचक निर्धारण गरिएको थियो । भौतिक पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, विपद् तथा वातावरण व्यवस्थापन, सुशासन र संस्थागत क्षमता विकासलगायतका विषयमा समूहगत छलफल गरी सुझावसहित प्रस्तुतिकरण गरिएको थियो ।
कार्यक्रममा आवधिक योजना निर्माणपछि त्यसको प्रभावकारी कार्यान्वयनमा सबै सरोकारवालाले प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यशालाको सहजीकरण त्रियुगा नगरपालिकाका अधिकृत आठौँ विश्वजित राईले गरेका थिए ।
वडाअध्यक्ष राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य रहेकी जिल्ला समन्वय समिति सदस्य गोमा कार्कीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो । कार्यालयले जनाएअनुसार कार्यशाला चालु आर्थिक वर्षको स्वीकृत रु. ७५ हजार बजेटबाट सञ्चालन गरिएको हो ।
कार्यशालाबाट तयार भएको आवधिक योजनाको मस्यौदामाथि विषयगत विज्ञहरूको सुझाव समेटेर अन्तिम रूप दिइने र त्यसलाई पुस्तकका रूपमा प्रकाशन गरिने छ ।उक्त पुस्तक सरोकारवालाहरूलाई वितरण गरिने समेत कार्यालयले जनाएको छ ।