



उदयपुरगढी । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ फुस्रेस्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकल र ट्रक एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बिहीबार दिउँसो करिब २ः४५ बजे गाईघाटबाट कटारीतर्फ जाँदै गरेको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ट्रकसँग ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक उदयपुरगढी गाउँपालिका–३ निवासी २८ वर्षीय एमबहादुर विक घाइते भएका छन् । उनको जिल्ला अस्पताल उदयपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको पछाडि सवार उनकी श्रीमती २८ वर्षीया एमुना विक गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्याइए पनि दिउँसो ३ः४० बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुर्घटनालगत्तै अस्थायी प्रहरी पोस्ट नेपालटार र चुहाडेबाट खटिएको प्रहरी टोलीले ट्रक चालक सप्तरीको सुरुङ्गा नगरपालिका–१ निवासी ४४ वर्षीय एकबहादुर खड्कालाई नियन्त्रणमा लिएको छ । प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।