उदयपुरमा कृष्णसेन इच्छुकको स्मृति दिवस मनाइयो

सन्तोष कार्की ।

उदयपुर । पत्रकार तथा साहित्यकार कृष्णसेन इच्छुक को २४औँ स्मृति दिवस उदयपुरमा पनि एक अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ ।

प्रेस सेन्टर उदयपुरको आयोजनामा नेपाल पत्रकार महासंघ उदयपुरको सभा भवन गाईघाटमा आयोजित स्मृति सभामा वक्ताहरूले जनपक्षीय, सत्यनिष्ठ र निर्भीक पत्रकारिताको अभ्यास आज पनि उत्तिकै आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा वरिष्ठ पत्रकार कौशल चेम्जुङले कृष्णसेन इच्छुक नेपाली पत्रकारितामा साहस र वैचारिक निष्ठाको प्रतीक भएको उल्लेख गर्दै पत्रकारहरूले सत्य, न्याय र जनताको पक्षमा उभिनुपर्ने धारणा राख्नुभयो ।

प्रेस सेन्टर उदयपुरका अध्यक्ष अभिमन्यु लामिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका केन्द्रीय सचिवालय सदस्य गजेन्द्र राई, केन्द्रीय सदस्य विदुर कटुवाल, भोटराज राई लगायतले इच्छुकको योगदान नेपाली पत्रकारिता आन्दोलनका लागि प्रेरणादायी रहेको बताएका थिए ।

वि.सं. २०५९ साल जेठ १३ गते पक्राउपछि हत्या गरिएका कृष्णसेन इच्छुकलाई नेपाली पत्रकारितामा जनपक्षीय तथा निर्भीक पत्रकारिताको प्रतीकका रूपमा स्मरण गरिन्छ । उहाँको स्मृति दिवस हरेक वर्ष देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ ।

Facebook Comments Box