



उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१२ फूलचोकस्थित एक घरबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा घरधनीसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार स्थानीय महेन्द्र चौधरीको घरमा जुवा खेल भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले जुवाको खालबाट नगद रु. १ लाख ८२ हजार ३८२, १६ वटा कौडा, ११ थान मोबाइल फोन तथा ५ थान मोटरसाइकल बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेहरूमा घरधनी ४५ वर्षीय महेन्द्र चौधरी, ५२ वर्षीय चिरन राई, ३४ वर्षीय जितन राई, २८ वर्षीय तिलक राई, ३५ वर्षीय जगदीश राई, ३३ वर्षीय नवीन तामाङ, ५४ वर्षीय वसन्त राई, ६२ वर्षीय नारायण पौडेल, ५१ वर्षीय रविन्द्र राई, ५४ वर्षीय हेमन्त राई तथा २८ वर्षीय रुद्रबहादुर परियार रहेका छन् । प्रहरीले पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी जुवा सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।