



उदयपुर । वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्र सेनानी कौशल चेम्जोङद्वारा लिखित इतिहाससम्बन्धी दोस्रो पुस्तक ‘नेपालको इतिहासमा उदयपुर’ सार्वजनिक गरिएको छ । शुक्रबार आयोजित एक कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत र उपमेयर महेश्वरी राईले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन् ।
पुस्तकमा विक्रम संवत् १९०० देखि २००७ सालसम्म उदयपुरसँग सम्बन्धित विभिन्न ऐतिहासिक घटनाक्रम समेटिएका छन् । लामो समयको खोज, अध्ययन तथा अनुसन्धानपछि पुस्तक तयार गरिएको लेखक चेम्जोङले बताए ।
उनका अनुसार इतिहास लेखनका क्रममा प्राप्त शिलालेख, ताम्रपत्र, पुराना दस्तावेज, लिखत, इतिहाससम्बन्धी पुस्तक तथा स्थानीय स्तरमा प्रचलित मौखिक कथनलाई आधार बनाएर पुस्तक तयार गरिएको हो ।
यसअघि पनि चेम्जोङले ‘उदयपुरको इतिहास’ नामक पुस्तक प्रकाशन गरिसकेका छन् ।
पत्रकारितासँगै साहित्य, भाषा तथा खोजमूलक अनुसन्धानमा सक्रिय चेम्जोङ उदयपुरको इतिहास, संस्कृति र पहिचान संरक्षणमा निरन्तर क्रियाशील रहँदै आएका छन् । उदयपुरको ऐतिहासिक पृष्ठभूमि, पुराना घटनाक्रम तथा जिल्लाको पहिचानबारे जानकारी लिन चाहने पाठकका लागि पुस्तक उपयोगी हुने अपेक्षा गरिएको छ ।