



उदयपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुरले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया टुंग्याएको छ । जसमा, निर्वाचन क्षेत्र नम्बर १ बाट बलदेब चौधरी र निर्वाचन क्षेत्र नम्बर २ बाट सुरेश कुमार राई (हिमाल)को नाम टुंग्याएको हो । साविक माओवादी केन्द्र, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपासहित १७ दलको एकीकरणबाट बनेको नेकपाले आन्तरिक छलफल र बहसपछि उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।
पार्टीका नेताहरूका अनुसार आकांक्षीको संख्या अत्यधिक भएपछि उदयपुरमा सिफारिस प्रक्रिया अन्य जिल्लाभन्दा ढिलो भएको हो । सुरुमा माओवादी केन्द्रमै दर्जनभन्दा बढी आकांक्षी रहेकामा एकीकरणपछि अन्य घटकबाट समेत दाबेदार थपिँदा सहमति जुटाउन समय लागेको बताइएको छ ।
स्थानीय तहबाट आएका सिफारिसका आधारमा जिल्ला कमिटीले नाम टुंग्याउने प्रयास गरे पनि सम्भव नभएपछि एक कार्यदल गठन गरिएको थियो । एकीकरणमा सहभागी दलका जिल्ला इन्चार्ज, संयोजक र केन्द्रीय सदस्यहरू सम्मिलित उक्त कार्यदलले पटक–पटक बैठक गरी व्यापक छलफलपछि सर्वसम्मत रूपमा नाम सिफारिस गरेको पार्टीको दाबी छ ।
कार्यदलमा माओवादी केन्द्रबाट मणि खम्बु (रिवासी) र द्रोण पौडेल (निरज), एकीकृत समाजवादीबाट राममणि पोखरेल र विनोद खड्का तथा विप्लव नेतृत्वको नेकपाबाट लक्ष्मण पौड्याल र दीपक बस्नेत रहेका थिए । उदयपुरमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । पार्टीले क्षेत्र नम्बर १ बाट १० जना र क्षेत्र नम्बर २ बाट ८ जनाको नाम सिफारिस गरेको छ ।
क्षेत्र नम्बर १ बाट अर्जुन तिम्सिना, किरण राई, जगन्नाथ खतिवडा, प्रवेश खड्का, बलदेव चौधरी, विशाल राई, मणि खम्बु (रिवासी), मनकुमार राई, रमण भट्टराई र सुरेशकुमार राई (हिमाल) सिफारिस भएका छन् । वर्णानुक्रमअनुसार रहेका नाममध्ये तिम्सिना, खतिवडा, चौधरी र मनकुमार साविक एकीकृत समाजवादीका हुन् भने बाँकी माओवादी केन्द्रबाट आएका हुन् ।
त्यसैगरी क्षेत्र नम्बर २ बाट एबिराज राई, जगन्नाथ खतिवडा, बलदेव चौधरी, भेषकुमारी राउत (कोपिला), मेजरकुमार राई, लक्ष्मण पौड्याल, सुरेशकुमार राई (हिमाल) र हेमराज दाहाल सिफारिसमा परेका छन् । यसमध्ये खतिवडा र चौधरी साविक एकीकृत समाजवादीका हुन् भने पौड्याल विप्लव समूहबाट आएका हुन् । बाँकी सबै माओवादी केन्द्र पृष्ठभूमिका हुन् ।
कार्यदलले खतिवडा, चौधरी र हिमाललाई दुवै निर्वाचन क्षेत्रबाट सिफारिस गरेको छ । खतिवडा र सुरेशकुमार राई (हिमाल) क्षेत्र नम्बर २ का पूर्व सांसद हुन् भने बलदेव चौधरी क्षेत्र नम्बर १ अन्तर्गत त्रियुगा नगरपालिकाका पूर्व मेयर हुन् । खतिवडा २०५६ र हिमाल २०७४ मा निर्वाचित सांसद हुन् ।
क्षेत्र नम्बर १ बाट सिफारिस भएकी मणि खम्बु (रिवासी) २०६४ सालमा तत्कालीन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्य निर्वाचित भएकी थिइन् । क्षेत्र नम्बर २ बाट सिफारिस भएकी भेषकुमारी राउत (कोपिला) पनि २०६४ कै समानुपातिकतर्फ संविधानसभा सदस्य रहिसकेकी हुन् ।
पार्टीले सिफारिसमा विभिन्न घटकको प्रतिनिधित्वसँगै युवाहरूलाई पनि समेटिएको जनाएको छ। “लामो छलफलपछि सबै पक्षको भावना समेटेर नाम टुंग्याएका हौँ,” एक नेताले भने, “अब पार्टी एकढिक्का भएर चुनावमा होमिन्छ ।”