



उदयपुर। उदयपुरको सदरमुकाम गाईघाटस्थित हात्तिमारा खोलाको सरकारी सार्वजनिक जग्गा अतिक्रमण गरी बिक्री–वितरण गरिएको दाबी गर्दै नागरिकहरूले तत्काल छानबिन गर्न सरकारसँग माग गरेका छन् ।
हात्तिमारा खोला संरक्षण अभियानको आयोजनामा शनिबार गाईघाट मुख्यचोकमा आयोजित नागरिक प्रदर्शनीमा सहभागीहरूले सार्वजनिक सम्पत्तिको संरक्षण र अतिक्रमणमा संलग्न व्यक्तिमाथि कानुनी कारबाहीको माग गरेका हुन् । प्रदर्शनका क्रममा सहभागीहरूले विभिन्न प्लेकार्ड बोकेर सरकारलाई तत्काल अनुसन्धान अघि बढाउन दबाब दिएका थिए ।
अभियानका संयोजक खेमनारायण यादवले २०६४ सालदेखि भुमाफिया र जग्गा दलालहरूले सरकारी निकायसँगको मिलेमतोमा हात्तिमारा खोलाको करिब ५५ बिघा सार्वजनिक क्षेत्र अतिक्रमण गरी खोलालाई पुरेर जग्गा बिक्री गरेको आरोप लगाए । उनका अनुसार खोलाको केही भागमा अहिले बस्ती तथा विभिन्न संरचना निर्माण भइसकेका छन् भने बाँकी क्षेत्र पनि अतिक्रमणको चपेटामा परेको छ ।
यादवले स्थानीय नागरिकहरूले यसअघि पनि नगरपालिका, मालपोत, नापी र जिल्ला प्रशासन कार्यालयमा पटक–पटक उजुरी दिँदा समेत कुनै प्रभावकारी छानबिन नभएको गुनासो गरे । सार्वजनिक सम्पत्ति कसरी निजीकरण भयो भन्ने विषयमा सरकारले सत्यतथ्य बाहिर ल्याउनुपर्ने उनको भनाइ छ । अभियानले अतिक्रमणमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन, पीडित बनेका जग्गा खरिदकर्तालाई न्याय दिलाउन तथा सरकारी सार्वजनिक जग्गा पुनः संरक्षण गर्न माग गरेको छ ।
युवा अभियन्ता निमेश राईले सरकारी निकायले बेवास्ता गरे नागरिक आन्दोलन थप सशक्त बनाइने चेतावनी दिए । उनले बेपत्ता पारिएको भनिएको हात्तिमारा खोला र अतिक्रमित सार्वजनिक जग्गाको वास्तविक अवस्था सार्वजनिक नभएसम्म अभियान जारी रहने बताए ।
अभियानका अनुसार सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले गरिएको प्रदर्शनीमा स्थानीय नागरिकहरूको स्वतःस्फूर्त सहभागिता रहेको थियो । सहभागीहरूले सार्वजनिक सम्पत्तिको संरक्षणमा राज्य जिम्मेवार बन्नुपर्ने र घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।