त्रियुगा नगरपालिकामा शिक्षक सरुवा विरुद्ध ज्ञापनपत्र (ज्ञापनपत्र र निर्णयहरु सहित)

बोक्से । उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेस्थित बालमन्दिर माध्यमिक विद्यालयका प्रधानध्यापक तथा शिक्षकहरुको सरुवा रोक्न माग गर्दै ज्ञापनपत्र बुझाईएका छन् । ज्ञापनपत्र स्थानीय अभिभावकहरुले प्रधानध्यापक जङ्गबहादुर खड्का (जे.बी.) लगायत अन्य शिक्षकहरुको सरुवा रोक्न माग गर्दै नगर प्रमुख बसन्त बस्नेतलाई बुझाएको हो ।

अभिभावकहरुले प्रधानध्यापक तथा शिक्षकहरुको सरुवा रोक्न विद्यालयमा माग गर्दै ज्ञापनपत्र बुझाएपछि अभिभावकहरु सहित प्रधानध्यापक खड्का नेतृत्वको टोलीले नगर प्रमुख बस्नेतलाई उक्त ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा, शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७६ (संशोधित), शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पत्र, साथै संघीय शिक्षा ऐन र नियमावलीविपरीत शिक्षक सरुवा गरिएको जनाइएको छ ।

विद्यालयमा व्यवस्थापन समिति गठन नभएको, साथै सरोकारवाला निकायको सहमति नलिई गरिएको सरुवा अन्यायपूर्ण रहेको अभिव्यक्ति दिँदै, पठनपाठनमा प्रत्यक्ष असर पर्ने तथा अङ्ग्रेजी माध्यममा सञ्चालित कक्षाहरु प्रभावित हुने बताइएको छ । सरुवाको निर्णयबाट निजी विद्यालयलाई मात्र फाइदा पुग्ने र सामुदायिक विद्यालयप्रति अभिभावकहरुको विश्वास घट्ने खतरा रहेको ज्ञापनपत्रमा उल्लेख छ ।

उक्त सरुवा निर्णय तत्काल खारेज गर्न माग गर्दै बुझाइएको ज्ञापनपत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय, उदयपुर र शिक्षा विकास तथा समन्वय इकाई, उदयपुरमा समेत पेश गरिएको छ ।

ज्ञापनपत्र र निर्णयहरुः

Facebook Comments