फोनिजको अध्यक्षमा लक्कीको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आगामी अध्यक्षका लागि लक्की चौधरीले दाबी प्रस्तुत गरेका छन् । वर्तमानमा वरिष्ठ उपाध्यक्ष रहेका चौधरीले आगामी महाधिवेशनमा अध्यक्षका रूपमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन् ।

चौधरीले फोनिजको नेतृत्वको पालो अब आफ्नो रहेको बताए । उनले जातीय समावेशिताको आधारमा पनि अध्यक्षको जिम्मेवारी आफूले सम्हाल्ने अवस्था बनिसकेको बताएका छन् । उनले भने, “गुरुङ, राई र तामाङजस्ता जातिहरूले पहिले संगठनको नेतृत्व गरेपछि अब रोलक्रमका आधारमा मेरो पालो आएको हो ।”

फोनिजको अध्यक्षमा हालका उपाध्यक्ष अमरध्वज लामा र सरु रानाले पनि आकंक्षा देखिएको छन् । त्यस्तै, वर्तमान अध्यक्ष गजुरधन राईको दोहोरिने सम्भावना पनि रहेको छ । फोनिजको आठौं संघीय महाधिवेशन चैत २९ र ३० गते लुम्बिनीमा आयोजना हुँदैछ।

अहिले महाधिवेशनको तयारी तीव्र पारिएको छ । कार्यक्रमको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने छन् । फोनिजका ६६ जिल्लामा समिति र प्रदेश समितिहरू रहेका छन् । यसका साथै आठ जातीय पत्रकार संगठनहरूको सदस्यता छ, जसमा मगर, थारू, गुरूङ, शेर्पा, तामाङ, नेवाः, राई र लिम्बु पत्रकार संघ समावेश छन् । संगठनमा कुल साढे चार हजार आदिवासी जनजाति पत्रकार सदस्य छन् ।

आगामी महाधिवेशनले ५३ सदस्यीय संघीय समिति गठन गर्नेछ । जसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष सहित पाँच उपाध्यक्ष, महासचिव, पाँच सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारीको व्यवस्थापन हुनेछ । फोनिज २०५६ सालमा नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज)को रूपमा स्थापना भएको थियोभने २०७० मा यसको नाम परिवर्तन गरेर फोनिज राखिएको हो।

Facebook Comments