उदयपुरमा जातीय विभेद र छुवाछूत उन्मूलन दिवसको अवसरमा जनचेतना अभियान

उदयपुर । अन्तर्राष्ट्रिय जातीय विभेद तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा दलित अधिकार संजाल उदयपुरले जनचेतना फैलाउने उद्देश्यले बृहत् आमसभा तथा र्‍याली कार्यक्रमको आयोजना गरेको छ । यस वर्षको कार्यक्रम गाइघाटमा शुक्रबार सम्पन्न भएको हो । यस अवसरमा गाइघाट बजारमा परिक्रमा, र्‍याली र सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिएका थिए ।

आमसभामा स्थानीय तहका प्रमुखहरूले जातीय विभेद र छुवाछूतविरुद्धको संघर्षलाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाए । जिल्ला समन्वय समितिका प्रमुख गौरबहादुर विश्वकर्माले सम्बोधन गर्दै दलित समुदायको हकहितको रक्षाका लागि सबै समुदाय एकजुट हुनुपर्ने कुरा उल्लेख गरे ।

त्रियुगा नगरपालिकाका प्रमुख वसन्त कुमार बस्नेतले दलित शसक्तिकरणका लागि नगरपालिकाले बजेट बिनियोजन गर्दै दलित समुदायको समग्र विकासका लागि विशेष योजनाहरू कार्यान्वयन गर्दै जाने कुरा बताए । यस्तै, कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठ, चौदण्डिगढी नगरपालिकाका कालुमान लामा र ताप्ली गाउँपालिकाका प्रमुख ढुङ्गराज विश्वकर्माले पनि दलित समुदायको अधिकारका पक्षमा आवाज उठाए ।

यस अवसरमा प्रमुख वक्ताहरूले नेपालको संविधानले जातीय विभेद र छुवाछूतलाई निषेध गरेको भएपनि समाजमा अझै पनि यस्ता प्रथाहरू अस्तित्वमा रहेको भन्दै जनचेतना फैलाउने कार्यक्रमहरूको महत्त्वमा जोड दिए ।

कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू पनि गरिएको थियो, जसले उपस्थित जनतालाई सकारात्मक सन्देश पुर्याएको थियो। दलित अधिकार संजाल उदयपुरका अध्यक्ष मेम बिस्वकर्माले कार्यक्रमको समापनमा भने, “जातीय भेदभाव र छुवाछूत विरुद्धको संघर्ष निरन्तर जारी छ, र संविधानले प्रत्याभूत गरेको दलित अधिकारको कार्यान्वयनको लागि अझै धेरै गर्नुपर्ने छ ।” यस वर्षको अन्तर्राष्ट्रिय जातीय विभेद तथा छुवाछूत उन्मूलन दिवसको नारा “समानता, न्याय र सम्मानित जीवन” रहेको थियो ।

Facebook Comments