उदयपुरमा आगलागी: चार घर जले, करोडौँको क्षति

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–७, कल्याणचोकमा मंगलबार दिउँसो विद्युत् सर्ट भएर भीषण आगलागी हुँदा चार घर जलेका छन्। आगलागीबाट करिब १ करोड २२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

शरणकुमार राईको घरबाट सुरु भएको आगोले तीन घर पूर्ण रूपमा नष्ट भएको छ भने चार घरमा आंशिक क्षति पुगेको छ। आगलागीमा परेर ३४ वर्षीय कीर्तिमान राई घाइते भएका छन्, उनको बेल्टार नगर अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार शरण राई, सर्वधन राई, कालुमान राई, रविन्द्र राई लगायतका घर तथा सम्पत्ति जलेर नष्ट भएका छन्। घरभित्र रहेका अन्नपात, लत्ताकपडा, फर्निचर, महत्त्वपूर्ण कागजपत्र समेत नष्ट भएका छन्।

दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहकार्यमा आगो नियन्त्रणमा लिइएको थियो। सोही दिन त्रियुगा नगरपालिका–४ फर्सेट जंगल र बेलका नगरपालिका–५ स्थित जलदेवी सामुदायिक वनमा पनि आगलागी भएको प्रहरीले जनाएको छ।

Facebook Comments