हेटौंडा, २८ वैशाख । अज्ञात समूहले हेटौंडा उपमहानगरपालिका-१६ मा गएराति सिलिण्डर बम विस्फोट गराएका छन् । उक्त विस्फोटबाट एक जना घाइते भएका छन् ।
एमालेका वडाध्यक्ष उम्मेदवार गोविन्द दाहालको घर नजिकै बुधबार राति पौने १० वजे सिलिण्डर बम विस्फोट गराएका थिए । विस्फोटबाट ३४ वर्षीय स्थानीयवासी श्यामप्रसाद दाहाल घाइते भएका छन् ।
उनको दुवै खुट्टाको हाडमा गम्भीर चोट लागेको छ । उपचारको निम्ति राति नै काठमाडौं लगिएको छ । न्याय सेवाका अधिकृत ३१ गतेको निर्वाचनम मतदान गर्नका लागि घर आएका थिए । घर छेउमा राति आगो बलेको देखेर आगो निभाउन जानेक्रममा सिलिण्डर बम पडेको थियो । अज्ञात समूहले आगो बालेर सिलिण्डर बम पड्काएका थिए ।
उम्मेदवार र मतदाताहरुलाई त्रसित बनाउन बम पडकाएको स्थानीयवासीको आरोप छ । प्रहरीले अनुसन्धानका लागि राति नै एक जनालाई नियन्त्रणमा लिएको छ । विभिन्न कोणबाट बम बिस्फोटको अध्ययन अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बसन्तकुमार लामाले बताए ।