त्रियुगा । मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार उदयपुरमा उत्साहजनक रूपमा मनोनयन दर्ता सम्पन्न भएको छ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलका तथा उम्मेदवारहरूले आफ्नो उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार एक स्वतन्त्र सहित आठ दलले उम्मेदवारी दर्ता गराएका छन् । जसमा नागरिक उन्मुक्ति पार्टीका चन्द्रकला चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका धु्रवप्रसाद पोखरेल, नेकपा एमालेका लक्ष्मी नारायण चौधरी र स्वतन्त्र बजरङ्गी कुमार दास रहेका छन् ।
त्यसैगरि माओवादी केन्द्रका नविन कुमार वान्तवा राई, नेपाली कांग्रेसका संजिव काफ्ले, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबाबु साह र नेकपा एकिकृत समाजवादीका निर्माल चौधरी रहेका छन् । उदयपुरमा त्रियुगा नगरपालिका १२ गाईघाट र बेलका ९ रामपुरमा अध्यक्ष पदमा उपनिर्वाचन हुदैछ । सोहि अनुसार आयोगले आजै साँझ उम्मेदवारको सूची प्रकाशन हुने जनाएको छ । यसैगरी मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
मङ्सिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । सो दिन विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक÷एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा निर्वाचन हुँदै छ ।
भिडियोः