डिआईजी हराएपछि रातभर प्रहरी परिचालन

काठमाडौँ, १८ बैशाख । कार्यसम्पादन मूल्यांकन फाइल (कामसु) किर्ते गरेको अभियोग लागेका डिआइजी नवराज सिलवाल उपचाररत अस्पतालबाटै वेपत्ता भएका छन् । आइजीपी नियुक्ति प्रकरणमा सिलवालले कामसु किर्ते गरेको भनि छानबिन भइरहेको सन्दर्भमा प्रेसरको बिरामी भएको भन्दै एक सातायता ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा उपचाररत सिलवाल आइतबार साँझदेखि एकाएक वेपत्ता भएका हुन् ।

प्रहरी स्रोतका अनुसार सिलवाल निवासमा छैनन् भने रातभर बालकुमारीस्थित निवासमा प्रहरी परिचालन गरिएको छ । तर, सोमबार बिहानसम्म सिलवाल घरमा नपुगेको प्रहरी स्रोतले बतायो ।

सिलवाल आइतबार साँझ अस्पतालबाट वेपत्ता भएको खबरसँगै प्रहरी हेडक्र्वाटरले महानगरीय प्रहरी परिसर ललितपुरलाई उनको निगरानी गर्न निर्देशन दिएको थियो । सो लगत्तै महानगरीय प्रहरी परिसर बृत्त सातदोबाटोका डिएसपी रामेश्वर यादवको नेतृत्वमा उनको खोजी सुरु भएको थियो । सिलवाल सम्भावित ठाउँमा समेत नभेटिएपछि ‘वाच’का लागि उनको निवास परिसरमा प्रहरी परिचान गरिएको र उनी घर नफर्किएको प्रहरी स्रोतले बतायो । ‘उहाँ ड्रेस चेन्ज गरेर एकाएक बाहिर निस्कनु भयो । कहाँ जान लाग्नु भएको भनि सोध्दा बाथरुम भन्नुभयो तर फर्कनु भएन’, अस्पतालका एक अधिकारीले भने, ‘पछि श्रीमती र भाई आएर डिस्चार्ज लिएर जानुभयो । अस्पताल स्रोतका अनुसार डिस्चार्ज लिन पुगेका सुर्दशन र सिर्जनाले अस्पताललाई तिर्न बाँकी ६० हजार तिरेका छन् । सिलवाल प्रेसरको बिरामी भएको भन्दै चैत ११ देखि अस्पतालको भीआईपी क्याबिनमा बस्दै आएका थिए ।

यसबारे बुझ्दा महानगरीय प्रहरी बृत्त सातदोबाटोका डिएसपी यादवले सिलवाल अहिलेसम्म सम्पर्कमा नआएको जानकारी दिँदै उनी निवासमा पनि नभएको बताए ।

प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग लगाइएको केही घण्टा नबित्दै सिलवाल एकाएक अस्पतालबाट गायब भएका हुन् । उनी कहाँ छन् भन्नेबारे पारिवारिक स्रोतसँग प्रयास हुँदा सम्पर्कमा आएनन् ।

सरकारले गत फागुन १ गते डिआईजी जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णय गरेसँगै सिलवाल सर्वोच्च पुगेका थिए भने पछि सर्वोच्चको पूर्ण इजलासले डिआईजी सिलवाललाई आईजीपी बनाउन आदेश दिएको थियो ।

तर, अदालतको फैसलापछि भने प्रकाश अर्यालको कामसु बढी देखाउँदै सरकारले उनैलाई आइजीपी बनाइसकेको छ । सरकारी छानबिनको क्रममा उनले अदालतमा फर्जी कामसु पेश गरेको खुल्न आएको मात्रै थिएन सोही प्रकरणमा उनीमाथि छानबिन समेत भइरहेको छ ।

यसैबीच डिआईजी सिलवालले बोक्ने मोबाइलसमेत अहिले अफ गरिएको छ । स्मरण रहोस्, यसअघि सिलवालले २४ सै घण्टा मोबाइल खुल्ला राख्नुका साथै जुनसुकै बेला पनि फोन उठाउँथे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *