उदयपुरमा ३० करोड लागतको नयाँ खानेपानी आयोजना सुरु

त्रियुगा । सदरमुकाम गाईघाटबासीलाई लक्षित गर्दै उदयपुृरमा अर्को खानेपानी आयोजना निर्माण सुरु भएको छ । गाईघाट बजार समेटिएको त्रियुगा नगरपालिका ११, १२ र छिमेकी वडा १३ मा बसोबास गर्नेहरुलाई लक्षित गरी ३० करोड बढी लागतको आयोजना निर्माण सुरु भएको हो । प्रस्तावित ‘गाईघाट खानेपानी आयोजना’ उपभोक्ता समितिका अध्यक्ष प्रकाशकुमार बस्नेतका अनुसार ३० करोडभन्दा बढीको प्राविधिक इस्टीमेट भए पनि पहिलो चरणमा मूल्य अभिबृद्धि कर (भ्याट)सहित १७ करोड ९ लाख ८४ हजार १ सय ४६ रुपैँया ३८ पैसाको ठेक्का लागेको छ ।

गएको पुस १८ गते नै सम्झौता भईसकेको आयोजनाको काम माघ २ गतेदेखि सुरु भएको भए पनि शुक्रबार मात्र औपचारिक सिल्यान्यास गरिएको अध्यक्ष बस्नेतले बताए । आयोजनाको काम आउँदो ०८१ माघ १ गतेभित्र सम्पन्न गर्नेगरी एम÷एस सागर मल्टीटेक जेवी बुढानिलकण्ठ काठमाडौँले ठेक्का लिएको छ । अध्यक्ष बस्नेतका अनुसार एउटा ट्रीटमेन्ट प्लाण्ट (प्रेसर फिल्टर), ५ वटा फायर हाईड्रान्ट, एउटा कार्यालय भवन, एउटा पम्प हाउस र २ वटा डिप ट्युब वेल निर्माण गर्नुपर्ने इस्टीमेट रहेको छ ।

बरुवा खोलाको बाबरीमा मुहान थापेर खोला किनारमा बनाइने समपवेलको पानी मुख्य ट्यांकीमा तानेर १ सय ५ किलोमिटर ५७ मिटर पाईपलाईन बतिरणको काम गर्नुपर्ने उनले बताए । समितिका सचिव विष्णु कोईरालाले आयोजना अन्तर्गत ११ नं. वडाको गाईघाट बजार, पिजी चोक, प्रगति टोल, असारी लाईन, संगम टोल, शिवालय टोल, साकेला थानक्षेत्रमा सुद्ध खानेपानी सेवा पुर्याउने लक्ष्य लिइएको बताए । उनका अनुसार त्यसैगरी १२ नं. वडाको प्रतिभा टोल, १२ नं. को पुरानो गाईघाट, सुम्निमा चोक, फुलचोक, सगरमाथा टोल, शनि मन्दिर क्षेत्र, डिएमगेट, नयाँ बसपार्कलगायत क्षेत्रबासीलाई खानेपानी उपलब्ध गराउने लक्ष्य छ ।

त्रियुगाकै १३ नं. वडाका हवाईफिल्ड, पूर्वपश्चिम बरुवा बसपार्क, गोजीपोखरी, खैजनपुर, असारी, भुसुने, किरात चोक, दनुवारी चोक, पोर्ताहा, लक्ष्मीपुरलागयत क्षेत्रलाई पानीको व्यवस्था गर्ने प्राविधिक इसटीमेट रहेको पनि सचिव कोईरालाले बताए । प्रदेश सरकार, खानेपानी तथा ढल व्यवस्थापन आयोजना बिराटनगरको रेखदेखमा निर्माण हुने आयोजनाले प्रारम्भिक चरणमा ३ हजार ८ सय ४८ घरधुरीका २५ हजार हाराहारी उपभोक्तालाई सुद्ध खानेपानी उपभोग गराउने जनाइएको छ । आयोजनाको शुक्रबार आयोजित एक कार्यक्रमका बीच त्रियुगा नगरप्रमुख बसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले सिल्यान्यास गरे ।

सिल्यान्यास कार्यक्रममा बोल्दै मेयर बस्नेतले गाईघाट सदरमुकामको बजार भएकाले दिनदिनै जनघनत्व बढ्दो क्रममा रहेको भन्दै भविष्यमा खानेपानीको समस्या आउन नदिन यो आयोजना महत्वपूर्ण हुने बताए । उनले हाल चालु त्रियुगा साना सहरी खानेपानी आयोजनाको पानी सीमित भएकाले १०, ९ र ८ नं. वाडबासीलाई खुवाउँदै ठिक्क हुने हुँदा बजारबासीका लागि अर्को योजनाको सुरुवात गर्न नगरपालिकाले पनि सहयोग गरेको बताए । उपमेयर राईले नगरबासीले सुद्ध खानेपानी पाउनु नैसर्गिक अधिकार भएको भन्दै त्यसको व्यवस्था गर्न नगरपालिकाले सक्दो भूमिका खेलिरहेको बताईन् । उनले आयोजना सञ्चालनका लागि सहभागिता शूल्कवापत लाग्ने १ प्रतिशतले हुन आउने ३० लाख रकम नगरपालिकाले बेहोरिदिएको बताईन् ।

आयोनजा समयमै सकेर नगरबासीलाई स्वच्छ खानेपानी उपभोग गराउन निर्माण कम्पनी र उपभोक्ता समितिलाई आग्रह गर्दै उपमेयर राईले नगरपालिकाको तर्फबाट हुने कुनै पनि सहयोगका लागि तत्पर रहेको बताईन् । सदरमुकामबासीलाई लक्षित गरी ०५३ सालदेखि निर्माण सुरु भएर सञ्चालनमा आएको त्रियुगा साना सहरी खानेपानी योजनाले नगरपालिकाका १०, ९ र ८ नं. वडाबासीलाई खानेपानी उपभोग गराउँै आएको छ । ११ नं. वडामा पर्ने गाईघाटका सीमित उपभोक्ताले धारा जडान गरेको भए पनि पर्याप्त रुपमा पानी नआउने भएकाले अधिकतर उपभोक्ता कल (भूमिगत) को पानी खाँदै आएका छन् । बरुवा खोलाकै मुहानबाट सञ्चालित साना सहरी खानेपानी योजनाबाट १ हजार २ सयभन्दा बढी उपभोक्ता लाभान्वित भईरहेका छन् ।

Facebook Comments