उदयपुरमा उल्लासमय छठ पर्व सम्पन्न

त्रियुगा । साझा सांस्कृति धरोहरकोरुपमा स्थापित छठ पर्व यस बर्ष उदयपुरमा चार हजार बढिले सामुहिकरुपमा पुजाआरधना र दश हजार बढिले प्रत्यक्ष अवलोकन गरेका छन् । विगत बर्षभन्दा यसपटक छठको रौनक र भक्तजनको संख्या बढेको पुजा व्यवस्थापन समितिले जनाएको छ । पुजा व्यवस्थापन समितिका अध्यक्ष चन्दनकुमार साहका अनुसार पुजा र अवलोकन गर्नेको संख्या दश हजार नाघेको बताए ।

उदयपुरको सदरमुकाम गाईघाट, बेलका, चौदण्डिगढी, कटारी नगरपालिका, रौतामाई, उदयपुरगढी गाउँपालिकाका नदी तलाउमा हर्सोल्लासका साथ पुजाआरधना गर्दै छठ पर्व मनाइएको हो । छठ पुजा व्यवस्थापन समितिले भक्तजनलाई सुविधा र सहज पूजा–आराधना गराउन पोखरी, नदी, खोला र खहरेमा व्यवस्थित रूपमा घाट निर्माण गरेका छन् । पछिल्लो समय छठ हिन्दुहरूको ‘साझा चाड’ मा रूपान्तरण हुँदै गएको छ । पछिल्लो समय छठ पूजामा पहाडी, नेवार समुदायको समेत उल्लेख्य सहभागिता हुन थालेको छ ।

सदरमुकाम गाईघाटमा आईतबार अस्ताउँदो र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै हर्षोल्लासकासाथ छठ पर्व मनाइएको छ । विगत बर्षभन्दा यस बर्ष विभिन्न कार्यक्रमहरुसमेत राखिएकाले भक्तजनको उपस्थिति अझ बढेको पुजा व्यवस्थापन समितिका सचिव ललित नायकले बताए । छैठी माताको पुजासँगै सांस्कृतिक प्रतियोगितामुलक कार्यक्रम, मनोरञ्जनका कार्यक्रमहरुसमेत रातभर सञ्चालनमा रहेको उनले बताए । भक्तजन र अन्य सर्वसाधरणलाई आकर्षित गर्न घाट व्यवस्थापन, मनोरञ्जनका कार्यक्रम, सेल्फी सिन, औषधिउपचार लगायतका गतिविधि राखिएको उनले बताए ।

मुख्यपुजारी खेमनारायण यादव (राहुल)ले भक्तजनसँग सामूहिक रूपमा पूजासमेत गरेका थिए । पूजाआजाका लागि मधेसी, पहाडी, नेवार समुदाय सहभागी थिए । विशेष पूजाका अवसरमा उनीहरूले सूर्य र छठी माताको आराधनासमेत गरेका थिए । सूर्यको उपासना गरेर तराई क्षेत्रका समुदायले छठ मनाउने गरे पनि पछिल्ला वर्षमा पहाडी समुदायका भक्तजनले पनि छठ पर्व मनाउन थालेका छन् । छठ पुजालाई लक्षित गरि सदरमुकाममा आयोजना गरिएको कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेतले छठ पुजा व्यवस्थापनका लागि स्थानीय सरकारले सहयोग गर्ने बताए ।

उनले त्रियुगाको संस्कृतिसँग जोडिएको पर्व भएकाले यसको संरक्षण, प्रर्वद्धनमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी उपमेयर महेश्वरी राईले त्रियुगाको सभ्यता, संस्कार र सौन्र्दयतामा छठ पुजा र पवित्र त्रियुगा नदीको महत्व रहेको बताईन् । पछिल्लो बर्ष सबैको साझा संस्कृतिकोरुपमा छठ पर्व स्थापित हुँदै गएकाले यसको संरक्षणमा सबैको चासो रहनु पर्ने बताए ।

कार्यक्रममा उदयपुर जिल्लाको साहित्य क्षेत्र कलम चलाउने साहित्यकार पुण्यबहादुर कार्की र इन्दिरा आचार्यलाई सम्मानसमेत गरिएको थियो । यस वर्षको छठमा लोकसंस्कृति झल्काउने खालका गीतमा खुला नृत्य र गायन प्रतियोगिता आयोजना गरिएको सल्लाहकार राजकुमार शर्माले जानकारी दिए । त्यस्तै मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम र छठमा योगदान गर्नेहरूलाई सम्मान कार्यक्रम पनि गरिएको उनले बताए ।

Facebook Comments