त्रियुगा मेयर चौधरी र मुसहर समुदाय बिच अन्तरक्रिया

त्रियुगा । उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरी र नगरभित्र बस्ने मुसहर समुदाय बिच खुल्ला अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको सो कार्यक्रममा जिविकोपार्जन सम्बन्धि छलफल भएको थियो ।

कार्यक्रममा मुसहर समुदायहरुले आफुहरुलाई ब्यवसायिक सीप र ज्ञानको माग राखेका थिए । उक्त समुदायले गर्दै आएको पेशालाई परिवर्तन गरी शिक्षा, स्वास्थ्य लगायत जिविकोपार्जनमा सहजता होस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको मेयर चौधरीले बताए ।

कार्यक्रममा मेयर चौधरीसंग उनिहरुले खुलेर अन्तरक्रिया गर्दै आफुहरुलाई सीपमुलक तालिम र जनचेतनामुलक कार्यक्रमको माग राखेका थिए । उनिहरुले मेयर चौधरीसंग अगरबत्ती बनाउने, सिलाईकटाई, दालमोठ भुजिया बनाउने, तरकारी तथा पशुपालन आदि सम्बन्धी तालिमको माग राखेका थिए । बिशेषगरि मुसहर समुदायहरुले ज्याला, मजदुरी र बनिबुतोको भरमा जिविकोपार्जन गरिरहेका छन् ।

जमिनको स्वमित्वबाट बञ्चित, उद्यमदेखि टाढा रहेका सो समुदाय शिक्षा, स्वास्थ्यको पहुँचबाट पनि पर रहेका छन् । मुसहर समुदायलाई विहान, बेलुका के खाने, के लाउने भन्ने कुराले पिरोल्ने र आफ्नो बालबालिकाहरुले विद्यालय छाड्ने दर उच्च रहेको मुसहर समुदायका अगुवा मिश्रिलाल सदाले बताए ।

यस्ता कुराहरुलाई मध्येनजर गर्दै उनीहरुलाई आयआर्जनमुलक सीप प्रदान गरेर जिविकोपार्जनमा सहजता ल्याउन र समुदायलाई अगाडी बढाउन खोजिएको मेयर बलदेव चौधरीको भनाई छ । मेयर चौधरीका अनुसार उनीहरुको आफ्नो इच्छा र धारणासमेतको कदर गर्दै कार्यक्रम गरिनेछ ।

सो समुदायको समग्र विकास र जीवन पद्धती परिवर्तनका लागि प्रदेश सरकारसंग विशेष कार्यक्रम प्रस्ताव गरिएको जानकारी मेयर चौधरीले दिएका छन् । उनले लक्षित मुसहर समुदायको सबै बस्तिमा आधुनिक ढङ्गको घर निर्माण र आयआर्जन, शिक्षा र स्वास्थ्यको ब्यवस्था गरिने बताए ।

नगरपालिकाको १६ मध्ये १०, १४, १५ र १६ बाहेक सबै वडामा बसोबासी रहेको मुसहर समुदाय नगरमा ५सय ५८ घरधुरी छन् । एउटै टोलमा समेटिएर बस्ने, छरिएर बसोबास नगर्ने विशेषता रहेको सो समुदायको नगरमा जनसंख्या २ हजार ५सय ९ रहेको छ ।

सिङ्गो जिल्लाको एकमात्र मुसहर समुदायको जनप्रतिनिधि त्रिनपा–१२ की वडा सदस्य किसनवती सदाले नगरपालिकाले सदा समुदायको हितमा कार्यक्रम अगाडी बढाएकोमा खुसी ब्यक्त गरेकी छिन् । कार्यक्रममा सहभागि मुसहर समुदायका अगुवाहरुलाई मेयर चौधरीले खादा ओढाई सम्मान गरेका थिए ।

Facebook Comments