उदयपुरमा सुत्केरी आमालाई ‘कोसेली’

उदयपुर । सुत्केरी आमाहरुलाई लक्षित गरी उदयपुरमा एक वडा कार्यालयले सुत्केरीलाई ‘कोसेली’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । कार्यक्रम ल्याउनेमा जिल्लाको त्रियुगा नगरपालिका वडा नम्वर १४ साउने रहेको छ ।

कार्यालयले आफ्नो वडाभित्र रहेको सुत्केरी आमाहरुलाई लक्षित गरी सो कार्यक्रम सञ्चालनमा ल्याईएको वडाअध्यक्ष कुरुङ राईले बताए । वडाअध्यक्ष राईका अनुसार वडा कार्यालयको टिम र स्थानीय स्वास्थ्यकर्मीहरु कोसेली लिएर सुत्केरी आमाहरुको घरघरमा पुग्ने गरेको छ ।

घरमै पुगेर दिने कोसेलीहरुमा पोषिलो खानेकुरा र सरसफाइका सामग्रीहरू रहेको वडासचिब रितकुमार राउतले बताए । वडासचिब राउतका अनुसार कोसेली स्वरुप भाले, घिउ, चामल र साबुनहरु रहेको छ ।

कार्यालयले सञ्चालन गरेको कार्यक्रममा आठ सुत्केरी आमाहरुलाई घरमै पुगेर हस्तान्तरण गरी सकिएको वडासदस्य हेमराज मगरले बताए । उनले कार्यालयले बिगत बर्षहरुमा पनि सुत्केरी आमा लक्षित यस्तो कार्यक्रमहरु सञ्चालन गर्दै आएको समेत बताए ।

Facebook Comments