उदयपुरमा मानव अधिकार सम्बन्धि तालिम सम्पन्न

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा मानव अधिकार सम्बन्धि पाँच दिने आधारभूत तालिम मंगलबार सम्पन्न भएको छ । बेलका नगरपालिकाको सहयोग तथा इन्सेकको सहकार्यमा मानव अधिकार निगारानी समुह बेलकाले मानव अधिकारको क्षेत्रमा काम गर्दै आएकालाई लक्षित गरि तालिमको आयोजना गरेको हो ।

निगरानी समुहका बीस जना सदस्यको सहभागिता रहेको तालिममा मानव अधिकारको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सवाल, नीतिगत व्यवस्था, भईरहेका प्रयासका बारेमा मानव अधिकार आयोगका पुर्व पुर्वाञ्चल संयोजक कोषराज न्यौपाने, विकासमा मानव अधिकारका बिषयमा बेलका नपाका मेयर दुर्गाकुमार थापाले सहजिकरण गरेका थिए ।

त्यसैगरी मानव अधिकारको परिचय र जिल्लाको मानव अधिकारको अवश्थाको बारेमा नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष तथा इन्सेक जिल्ला प्रतिनिधि भरत खड्का, निगरानी समुहका काम, कर्तव्य र अधिकारका सवालमा इन्सेकका कार्यक्रम अधिकृत वागमता कटेल, सुशासनमा मानव अधिकार युवाअभियन्ता विकास बन्जराले सहजिकरण गरेका थिए ।

त्यस्तै मानव अधिकार सम्बन्धि कानुनी व्यवस्था र उजुरी प्रकृयाका बारेमा अधिवक्ता सुरेन्द्र बस्नेत, महिला तथा बालबालिकाका अधिकार अधिकारकर्मी तिर्थ पराजुली र प्रशासनिक क्षेत्रमा मानव अधिकारका बिषयमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मानन्द जोशीले सहजिकरण गरेका थिए ।

कार्यक्रमको समापन गर्दै बेलका नपाका मेयर दुर्गाकुमार थापाले कानुनी शासन स्थापना भए मात्र व्यक्तिको मानव अधिकार सुरक्षित रहने बताए । उनले मानवअधिकार मैत्री राज्यव्यवस्था बनाउन सकेमात्र समृद्ध नेपाल र सुखी नेपालीको कल्पना गर्न सकिने बताए ।

निगरानी समुहका अध्यक्ष जयराम पुर्वछाने मगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ४ नम्बर वडाध्यक्ष दिपक दंगाल, आदिबासी जनजाती नगर समन्वय समितिका अध्यक्ष ललित राईले आफुहरुले राज्यसँग अधिकार मागि रहँदा कर्तव्य भुल्ने गरेको बताए ।

Facebook Comments