उदयपुरमा थप ३ जना कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४३ पुग्यो

उदयपुर । उदयपुरमा थप तीन जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बेलका नगरपालिकाको क्वारेन्टाइनमा रहेका २२, २६ र ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

बेलका नगरपालिका ३ का ३० वर्षिय पुरुष जेष्ठ १९ गते भैरहवा सुनौली नाकाबाट नेपाल प्रवेश गरेको बेलका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल चौधरीले जानकारी दिए । उनी भारतको मुम्बईबाट आएका युवा हुन् ।

यस्तै बेलका नपा वडा नं. ९ का २२ र २६ वर्षिय युवा जेष्ठ १७ गते लौकहा ठाडी नाकाबाट नेपाल प्रवेश गरेका थिए । उनीहरु भारतको दिल्लीबाट आएका हुन् । गत २३ गते विभिन्न क्वारेन्टाइनमा रहेका ६७ जनाको पिसिआर परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुलाई कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुवेदीले जानकारी दिए । योसँगै उदयपुरमा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ ।

तीन दिनअघि नगरपालिकामा श्रीमान र श्रीमतिमा संक्रमण देखिएको थियो । उनीहरुको बिराटनगरस्थित कोरोना उपचार केन्द्रमा उपचार भइरहेको छ । योसँगै बेलका नगरपालिकामा मात्रै कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।

हालसम्म सबैभन्दा बढी त्रियुगा नगरपालिकामा ३५ जना पुगेको छ । ३५ मध्ये ३३ जना उपचारपछि घर फर्किसकेका छन् । चौदण्डीगढी, कटारी नगरपालिका र उदयपुरगढी गाउँपालिकामा १÷१ जना यसअघि नै संक्रमित पुष्टि भईसकेका छन् ।

Facebook Comments