पुनः उदयपुरमा तिन जनामा कोरोना पुष्टि, त्रियुगामा दुई कटारीमा एक

उदयपुर । उदयपुरमा तिन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंस्थित टेकु र बिराटनगर प्रयोगशालामा गरिएको परीक्षणबाट तिन जनामा कोरोना देखिएको हो ।

यो सँगै उदयपुरमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ भने उपचार पछि निको भएर घर फर्कनेको संख्या ३२ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुबेदीका अनुसार त्रियुगा नगरपालिका १० का २४ वर्षिय युवती र १९ वर्षिय युवकमा संक्रमण देखिएको हो । उनिहरु एउटै घरको चेलिमाईती रहेको बुझिएको छ ।

त्यसैगरि कटारी नगरपालिकाका २६ बर्षिय युवामा संक्रमण देखिएको हो । संक्रमित सबै जना भारतबाट घर फर्किएका जिल्लाबासी हुन् । उनीहरुलाई सम्बन्धित पालिकाहरुले नेपाल भित्रिए लगत्तै उद्धार गरी क्वारेन्टाइनमा ल्याएर राखेको जिल्ला प्रहरी कार्यालयका एसपी बिरबहादुर बुढामगरले जानकारी दिए ।

संक्रमितहरु त्रियुगा जनता वहुमुखि क्याम्पस मोतिगडा र कटारी नगरपालिका १ बेलस्रोतस्थित नेपाली सेनाको रणसार्दुल गणको क्वारेन्टाइनमा बस्दै आएको स्वास्थ्य प्रमुख सुबेदीले बताए । हालसम्म त्रियुगा नगरपालिकामा ३५ जना, बेलका ननगरपालिकामा २, चौदण्डीगढी गाउँपालिका, कटारी नगरपालिका र उदयपुरगढी गाउँपालिकामा १÷१ जना गरी ४० जनामा कोरोना पुष्टि भएको छ ।

पुष्टि भएका मध्ये त्रियुगा नगरपालिका ३ भुल्केका ३१ जना र त्रियुगा नगरपालिकां ११ गाईघाटका पत्रकार गरी ३२ जनाले कोरोना जितेर घर फर्किएका छन् । संक्रमण फैलिन थालेपछि स्वास्थ्य कार्यालयले स्वाब संकलनमा तिव्रता दिएको छ । बुधबार मात्रै कार्यालयले २ सय ८ जनाको स्वाब संकलन गरी धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको उनले बताए ।

Facebook Comments