नेपालको नयाँ नक्साबारे बोल्यो भारत : हामीलाई अस्वीकार्य

नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समामवेश गर्दै नयाँ राजनीतिक नक्सा जारी गरेपछि भारतले त्यसलाई अस्वीकार गर्ने जनाएको छ । बुधबार नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको छ ।

नेपालको परिमार्जित नक्साबारे गरिएको पत्रकारहरुको प्रश्नमा जवाफ दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सो कुरा बताएका हुन् । उनले भने, ‘नेपाल सरकारले जारी गरेको परिमार्जित नक्सामा भारतीय भूमिको हिस्सा समावेश गरिएको छ ।

यो एकपक्षीय कदम ऐतिहासिक तथ्य र प्रमाणका आधारमा छैन । यो सीमा समस्यालाई कुटनीतिक छलफलको माध्यमबाट समाधान गरिने दुई पक्षीय समझदारी विपरित रहेको छ । यो भौगोलिक दाबीको कृत्रिम विस्तारलाई भारतले स्वीकार गर्दैन ।’

उनले थप भने, ‘नेपाल यो विषयमा भारतको अडानबारे जानकार रहेको छ र यस्तो अनुचित दाबी नगर्न नेपाल सरकारलाई आग्रह गर्दछौँ ।’ उनले नेपाल सरकारलाई भारतको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई सम्मान गर्न पनि आग्रह गरेका छन् ।

उनले नेपालको नेतृत्वले सीमाबारे विवाद सुल्झाउन कुटनीतिक छलफलका लागि सकारात्मक वातावरण तयार गर्ने आशा पनि व्यक्त गरे ।

Facebook Comments