१ सय ९९ परिवारलाई सामुदायिक वनद्धारा राहत वितरण

उदयपुर । आफ्ना उपभोक्तालाई भोकमरीबाट जोगाउन उदयपुरका सामुदायिक वन समुहहरुले धमाधम राहत स्वरुप खाद्यन्न वितरण थालेका छन् ।

स्थानीय तह, डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता महासंघसंग समन्वय गरी वन समुहहरुले उपभोक्तालाई खाद्यन्न वितरण गर्न थालेका हुन् । मंगलबार त्रियुगा नगरपालिका ७ कौवाईस्थित कौवाई सामुदायिक वन र पश्चिम जहरे महिला सामुदायिक वन उपभोक्ता समुहले विपन्न वर्गका १ सय ९९ सय परिवारलाई राहत वितरण गरेका हुन् ।

बन समुहको आम्दानीबाट ३५ प्रतिशत रकम गरिवी निवारण कार्यक्रममा खर्च गर्ने प्रावधानअनुरुप समस्यामा परेका उपभोक्तालाई राहत स्वरुप १ लाख ७० हजारको चामल, दाल, तेल, नुन वितरण गरिएको कौर्वाइ सवउसका सचिव राजकुमार कार्कीले बताए ।

एक सय २० घर धुरी आवद्ध रहेका मध्ये ९४ परिवारलाई सहयोग गरेको उनले बताए । समुहका अध्यक्ष भक्तबहादुर मगरकाअनुसार २४ परिवारलाई जनही ४० केजी चामल, ६८ परिवारलाई ३० केजी र २ परिवारलाई १५ केजी चामलको राहत प्याकेज वितरण गरिएको हो ।

त्यसैगरी पश्चिम जहरे महिला सामुदायिक वन उपभोक्ता समुहले १ सय ५ घरधुरीलाई प्रतिपरिवार २० केजी चामलको प्याकेज वितरण गरिएको अध्यक्ष कृष्णमाया खत्रीले बताईन् । वन समुहमा आवद्द नरहेका २५ परिवारलाईपनि सहयोग उपलब्ध गरिएको उनले बताईन् ।

लामो लकडाउनले खाद्यन्न संकट भोग्न थालेका उपभोक्ताले राहत पाउँदा खाध्य अभाव टरेको बताएका छन् । घरदेखि बाहिर निस्कन नपाएको अवस्थामा घरघरमै रासन पाउदा सुरक्षित संगै खाने व्यवस्था भएको उनीहरुले बताएका छन् ।

जनप्रतिनिधि, वन कार्यालय, बन महासंघको प्रत्यक्ष निगरानीमा समुहले राहत वितरण गरेको सामुदायिक वन उपभोक्ता समूह महासंघ उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेतले बताए । जिल्लाका अन्य समुहहरुले पनि खाद्यन्न वितरणलाई तिव्रता दिएको उनले बताए ।

बन समुहले उपभोक्तालाई खाद्यन्न वितरण गरेपछि नगरपालिकाको राहत वितरणमा थप टेवा पुगेको त्रियुगा नगरपालिकाका मयेर बलदेव चौधरीले बताए । उनले लकडाउनको समयमा घर भित्रै बस्ने वातावरण वनाउन राहतले सहयोग पुगेको बताए । मजदुरी गरी खाने नगरका जनता लकडाउनको समयमा भोकभोकै बस्नु पर्ने अवश्थामा सामुदायिक वनको सहयोगले राहत पुगेको बताए ।

डिभिजन वन कार्यालय गाईघाटका प्रमुख अम्विकाप्रसाद पौडेलले खान नपाउने मजदुर लकडाउनको प्रवाह नगरी वाहिर निस्कने अवश्थालाई सामुदायिक वनको सहयोगले सहज भएको बताए ।

उनले अहिलेको विशेष परिस्थितिमा बन समुहले खाद्यन्न वितरण गर्नु समुहको आम्दानीको रकम सदुपयोग भएको उनले बताए । यसअघि उदयपुरगढी गाउँपालिका ७ स्थित विश्वकञ्चन सामुदायिक वन उपभोक्ता समुह अधेँरीले विपन्न ९५ घरधुरीलाई सबैभन्दा पहिला राहत बितरण गरेको थियो ।

Facebook Comments