विप्लव उदयपुर जिल्ला सेक्रेटरी पक्राउ

उदयपुर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका उदयपुर सेक्रेटरीलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ । उदयपुरगढी गाउँपालिका ७ अँधेरीका चित्रबहादुर खपाङ्गी मगरको घरमा लुकेर बसेको गोप्य सूचनाका आधारमा सोही गाउँपालिका ४ का ५४ वर्षीय सेक्रेटरी जितबहादुर पुलामीमगर पक्राउ परेका हुन् ।

केहि दिन यता खपाङ्गीको घरमा बसेर विप्लव समुहको नाममा योजना बनाएको, गतिविधि बढाएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको एसपी वीरबहादुर बुढामगरले जानकारी दिए ।

२०७४ सालको संसदीय निर्वाचनमा चुनाव प्रचार प्रसारका क्रममा मंसिर १३ गते नेपाली कांग्रेस क्षेत्र नम्बर २ का उमेदवार नारायणबहादुर कार्की लगायतका ७ जनालाई लक्षित गरी उदयपुरगढी ६ दनुवारबेसी सडकमा एम्बुस थापेर अङ्गभङ्ग बनाएको आरोपमा मगरविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर रहेको एसपी मगरले बताए ।

त्यसैगरी जिल्लाका एनसेल टावर, व्यक्ति तथा कार्यालय र सडकलाई लक्षित गरी बम राखेर त्रास फैलाएको जस्ता मुद्दा रहेको उनले बताए । पक्राउ परेका मगरलाई प्रहरी हिरासतमा राखी अनसुन्धान सुरु गरिएको एसपी मगरले बताए । उनको साथबाट प्रहरीले मोबाइल ३ थान र पार्टीका विभिन्न दस्तावेज बरामद गरेको जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *