उदयपुर । उदयपुरमा कांग्रेस नेता सहित ८ जना तासको खालबाट पक्राउ परेको छ । उनिहरुलाई सदरमुकाम गाईघाट स्थित एनआईसी बैक रहेको नेपाली कांग्रेसका नेता बसन्त बस्नेतको घरबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नेपाली कांग्रेस क्षेत्रिय सभापति समेत रहेका त्रियुगा नगरपालिका–११ बस्ने बर्ष ५० को बसन्त बस्नेत, त्रियुगा नगरपालिका–११ बस्ने बर्ष ४४ को सुमन्त कोईराला, त्रियुगा नगरपालिका ११ गाईघाट बस्ने बर्ष ४२ को दुर्गा श्रेष्ठ, त्रियुगा नगरपालिका–१० बस्ने बर्ष ४० को किरण पाण्डे रहेका छन् ।
त्यसैगरि त्रियुगा नगरपालिका–१० बोक्से बस्ने बर्ष ३५ को भबिन्द्र खत्री, त्रियुगा नगरपालिका–११ बस्ने बर्ष ३५ को यलराम भन्ने लुमुनिराम कार्की, त्रियुगा नगरपालिका–११ बस्ने बर्ष ४७ को बालकृष्ण कार्की र त्रियुगा नगरपालिका– ११ बस्ने बर्ष ४० को राजु राउत रहेका छन् ।
पक्राउ परेकाहरु मध्ये सभापति बस्नेत गत स्थानीय निर्वाचनमा त्रियुगा नगरपालिकाका लागि नेकाको तर्फबाट मेयरको उम्मेदवार हुन् भने कोईराला त्रियुगा वडा नम्बर– ११ का लागि नेकाकै तर्फबाट वडा अध्यक्षको उम्मेद्वार हुन् । त्यसैगरि लुमुनिराम कार्की एनआईसी बैक गाईघाट शाखाका प्रमुख हुन् ।
उनिहरुलाई आईतबार साँझ पक्राउ गरिएको उदयपुर प्रहरी प्रमुख (एसपी) बिर बहादुर बुढामगरले बताए । एसपी बुढामगरका अनुसार पक्राउ पर्नेहरुको साथबाट एक लाख ८० हजार सात सय २० रुपैया नगद र ३ बुम तास बरामद गरिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी अनुसन्धान सुरु गरिएको छ ।
भिडियोः–