प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ १ सिट जित्ने दललाई राष्ट्रिय दलको मान्यता दिने दलहरुको प्रस्ताव संसदको राज्य व्यवस्था समितिले पारित गरेको छ ।
बुधबार बसेको समिति बैठकले दलहरुको प्रस्ताव बहुमतले पारित गरेको संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिए । उनका अनुसार यो प्रस्ताव अब संसदमा जानेछ । यसअघि बुधबार बिहान राज्य व्यवस्था समिति सदस्य एवं सांसद आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७३ गृहकार्य टुंगाउँदै उपसमितिले ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ राख्ने निर्णय गरेको थियो ।
निर्वाचनमा खसेर सदर भएको कुल मतमध्येबाट राष्ट्रिय दलको अस्तित्व राख्नका लागि समानुपातिकमा ३ प्रतिशत र प्रत्यक्षमा एक सिटको थ्रेसहोल्ड राख्ने दलहरुबीच सहमति बनेको थियो । ‘हामीले कम्तीमा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षमा एक सिट जित्नु पर्ने थ्रेसहोल्ड भने पनि राख्यौं,’ उपसमितिका सदस्य तथा सांसद रामेश्वर फुयालले भने, ‘यसले दलहरुको केही हदसम्मको अराजकतालाई रोक्ने छ ।’
उपसमितिका सदस्यहरू तथा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र नेकपा मालेका अइन्द्रसुन्दर नेम्वाङले भने थ्रेसहोल्ड राख्न नहुने फरक मत राखेका थिए । फुयालले ५ प्रतिशत थ्रेसहोल्ड राख्नु पर्ने अडान लिएका थिए ।
उक्त प्रस्तावलाई गृहमन्त्रीले विधेयकको रुपमा संसदमा पेस गरेपछि पारित हुन्छ र राष्ट्रपतिले स्वीकृत गरेपछि ऐन बनेर लागू हुनेछ ।
मालेका सांसद नेम्वाङले समावेशी लोकतन्त्र हुनुपर्छ भन्ने दलहरुले समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउनुपर्ने र प्रत्यक्ष निर्वाचनमा १ सिट जित्नै पर्ने बाध्यकारी व्यवस्था गराएको भन्दै साना दलहरुको विरोध रहेको बताए । उनले यसबाट संविधानमा व्यवस्था रहेको समानुपातिक समावेशी, राजनीतिक दल खोल्ने मौलिक हक कुण्ठित हुने दाबी गरे ।
समानुपातिक समावेशीताका लागि २०६२/०६३ लगायत आन्दोलनको भावनाविपरीत निर्णय भएकोले यसको विरोधमा संसद बुधबार बस्ने संसद बैठकमा अवरोध गर्नेबारे छलफल भइरहेको नेम्वाङले बताए । उनका अनुसार आगामी योजना बनाउन बानेश्वरको शंकर हलमा अहिले २ बजे संसदमा प्रतिनिधित्व रहेका दलहरुको बैठक डाकिएको छ ।