जहाँ पीउने पानीका लागि आकाश हेर्नु पर्छ

भरत खड्का
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १४ नेपानेकी नन्दमाया मगरको घर अगाडी सिमेण्टको भकारी जस्तो बनाइएको छ । झट्ट हेर्दा जो कोहीले अन्न राख्ने सिमण्टको भकारी नै सम्झन्छन् । तर त्यो अन्न राख्ने भकारी नभई आकाशको पानी जम्मा गर्ने ट्यांकी हो । जसलाई स्थानीयले ‘घैँटे पानी संकलन प्रविधि भन्ने गर्दछन् । जहाँ आकाशबाट घरको छानोमा झरेको पानी पाईपबाट संकलन गरिन्छ । छानोमा दर्किएको पानी छेउमा पाईप राखेर सिधै घैँटोमा जम्मा हुने गर्दछ ।

घैँटोको क्षमता २ हजार लिटर रहेको छ । जुन पानी स्थानीयले एक महिनासम्म उपभोग गर्दछन् । त्यो पनि पीउनका लागि मात्रै ।
बाँकी शौच गर्न जंगल धाउने गरेको र नुहाउन, कपडा धुन, पशुचौपायको प्यास मेटाउन ३ घण्टा लगाएर खोलाखाल्सी धाउने गरेको नन्दमाया बताउँछिन् । पानी नहुँदा सरसफाइका लागि हप्ता दिन कुर्नु पर्ने बाध्यता छ । पीउने पानी घरमा ल्याउनका लागि मात्रै एक जना मान्छे सबै काम छोडेर नियमित बस्नु पर्छ ।

पीउने पानीका लागि ३ घण्टाको पैदल यात्रा गर्नु पर्ने भएपछि नन्दमायाले मात्र नभई नेपानेका २३ घरले यहीँ प्रविधिबाट आकाशको पानी जम्मा गरेर महिना दिन धान्दै आएको वडाध्यक्ष कुरुङ राई बताउँछन् । कर्कट पाताले छाएका सबै घरको पानीको मुख्य स्रोत नै खिया लागेको कर्कटपाताबाट वगेको पानी नै भएको राई बताउँछन् । छिमेकी वडानं १५ को कोप्चे र सिमखेत धाएर अहिले पनि पानी ल्याउनु पर्ने बाध्यता उनीहरुमा छ ।

एक गाग्री पानी लिनकै लागि झण्डै आधा दिन वित्ने गरेपछि स्थानीयले १३ बर्षदेखि आकाशको पानीलाई मुलस्रोतकोरुपमा लिएका छन् । त्यो पनि नेवा संस्थाले आकाशको पानी जम्मा गर्न ‘घैँटे पानी संकलन प्रविधि योजना अघि सारिदिएको हो । जुन परियोजनाबाट अहिलेसम्म राहत मिलेको स्थानीय हृदयकुमार मगर बताउँछन् । त्यसअघि खोलाखाल्सी नै धाउने गरेको स्थानीय बताउँछन् ।
उनी भन्छन्, ‘जग्गा सबै नम्बरी छ, छोडेर कहाँ जानु, पानी अभावकैकारण विक्री पनि हँुदैन, मुस्किलले सस्तोमा विक्री गर्यो त्यो पैसाले अर्को ठाउँमा केही आउँदैन् ।

‘त्यसै छोडेर जाउँ कसैले ओगटेर बस्ला भन्ने डर, नछोडौ कति दुःख बेसाउनु, उनले भने, ‘अब त नगरबासी भन्न पनि लाज लागिसक्यो, केहि सुबिधा छैन् । ‘अन्नको तरान, पानीको पराण’ नेपाली उखान जस्तो आफ्नो प्राण जोगाउन खिया लागेको कर्कट पाताको पानी र महिनौ दिनसम्म एकै ठाउँमा जम्मा गरेको पानी पीउन बाध्य छन् । नेपानेबासीले खोल्सा र जंगलका बिचमा खोस्रिएर बनाएको कुवाबाट पानीको दैनिक समस्या टार्दै आएकाछन् । सामान्यतया खुल्ला ठाउँका खोल्साखोल्सी, कुवाको पानी प्रदुषित हुने गर्दछ । तर प्रदुषित भएपनि काकाकुल जीवन बिताउनुभन्दा जस्तो छ त्यस्तै पीउनु बेस भएको उनीहरुको बुझाई छ ।

खानेपानी मन्त्रालय आशामा वडाबासी
पीउने पानीको समस्याको बिषयमा खानेपानी मन्त्री बिना मगरसँग पटक–पटक छलफल भएको वडाध्यक्ष कुरुङ राईले बताए । उनले भने, ‘मन्त्री ज्युलाई पानीको समस्या राखेका छौ र वडा हुँदै नगरपालिकाको नगरसभाबाट पारित गरी योजना माग गरेका छौ, आशा छ सम्बोधन हुनेछ । ७÷८ बर्षअघि धारा निर्माणका लागि राष्ट्रिय योजनामा परे पनि योजना नै असफल भएपछि पानीको अभाव भएको उनको भनाई छ । वडानं १५ को अँधेरीलाई मुहान बनाएर ल्याउन सके मात्र योजना सफल हुने उनले बताए ।

बस्ति अग्लो ठाउँमा छ अहिलेको मुहान होचो ठाउँमा छ त्यसैले पानी ल्याउन गार्हो भएको हो । ‘बस्तिभन्दा मुनी पानीको स्रोत त्यो पनि ३ घण्टा हिडेर जानु पर्छ, वडाध्यक्ष राईले भने, ‘स्रोतकै अभावमा काकाकुल जीवन विताउनु परेको छ । त्रियुगा नगरपालिका वडानं १५ अधेँरी खोलाको पानी ल्याउन सके मात्र बस्तिमा पानी पुग्छ, तर त्यो पानी स्थानीय स्रोतबाट ल्याउन सक्ने अबश्था छैन् । लामो दुरी भएकाकारण अधेँरीको पानी ल्याउन राष्ट्रिय योजनाबाट मात्र सम्भव हुने उनले बताए ।

पीउनका लागि योग्य छैन्
सामान्य त पानी पीउनु अघि पानीको सरफाइ छ कि छैन् भन्ने कुराको हेक्का राख्नु पर्दछ । सकिन्छ उमालेर खाने सकिन्न फिल्टर गरेर खाने तर जस्ताको त्यस्तै कहिले नखाने यो भनाई उदयपुर त्रियुगा अस्पताल एण्ड रिसर्च सेण्टर गाईघाटका डाक्टर धनिकालाल यादवको हो । आईरन मिसिएको पानी पीउदा पखाला, टाईफाईड, जाइडिया नामक किटाणु देखिने, विभिन्न व्याक्टेरिया देखिने जसले गर्दा महामारी निम्तिन सक्ने उनको भनाई छ ।

डा. यादवले भने, ‘शुद्धिकरण नगरी पिएको कुनै पनि पानी स्वास्थ्यका लागि हानिकारक छ, त्यसमा नी खिया लागेको पानी त झनै पीउनै हुन्न । उनले तत्काल नदेखिएपनि त्यसको समयमा समाधान नगर्ने हो भने एक दिन महामारी फैलन सक्ने खतरा रहेको उनको भनाई छ । ‘नगरभित्रै त यो हालत छ भने अन्य गाउँपालिकाको हालत झन के होला, खानेपानी तथा सरसफाइको क्षेत्रमा क्रियाशिल पत्रकारहरुको संस्था जेवाससिसीका संयोजक वरिष्ठ पत्रकार कौशल चेम्जोङले भने, ‘जनघनत्व बढ्दै जाँदा पानीहरु त्यतिकै प्रदुषित बनेको छ, यसको समुचित व्यवस्थापन नगर्ने हो भने, अकालमै ज्यान जान सक्छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *