चैत्र १/ मंगलबार बिहान ललितपुर महानगरपालिकाबाट देशैभरका स्थानीय तहको कार्यालय सञ्चालन सुरुवात गर्ने कार्यक्रममा प्रमुख अतिथि थिए प्रधानमन्त्री पुष्पकमल दाहाल ।
दाहालसँगै विशेष अतिथिकोरुपमा तीन दिनअघिमात्रै स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री कमल थापा । स्थानीय तह रुपान्तरणकै दिन मन्त्रालय सम्हालेका थापा र प्रधानमन्त्रीले केहीबेर एक अर्काबीच प्रशंसामा समय खर्चिए ।
पहिलोपटक ललितपुरलाई उपमहानगरपालिका घोषणा गर्दासमेत स्थानीय विकास मन्त्री रहेका थापाले महानगर घोषणाको अवसरमा अतिथि रहेपछि प्रधानमन्त्रीसमेत रोमाञ्चित बने ।
प्रधानमन्त्रीले कतिपय अन्तरका बाबजुद, मतभेदका बाबजुद थापाले संघीयता र संविधान कार्यान्वयनमा प्रतिबद्धता देखाएको भन्दै प्रशंसा गरे ।
थापाले भने निर्वाचनप्रति दाहालले लिएको अठोट कार्यान्वयन गर्न आफू सरकारमा सहभागी भएको बताए । उनले संविधान कार्यान्वयन गर्न र असन्तुष्ट दललाई सहमतिमा ल्याउन प्रधानमन्त्रीले अथक प्रयास गरेको भन्दै प्रशंसा गरे ।