उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका स्थित बेल्टार बजारमा रहेको बसपार्क बिधिवत रुपमा मंगलबारदेखि सञ्चालनमा आएको छ । स्थानीय सेढाई बन्धुहरुले निशूलक दिएको ५ करोड मूल्य बराबरको १० कठ्ठा क्षेत्रफल जग्गामा प्रारम्भिक पूर्वाधार निर्माण गरी सो बसपार्क सञ्चालनमा आएको हो । चौदण्डीगढी नगरपालिका ६ का स्व. देवीप्रसाद सेंढाईको नामको जग्गा भाईहरु जनकलाल सेंढाई र काशीनाथ सेंढाईले नगरपालिकालाई निशूल्क दान दिएपछि बसपार्क सञ्चालनमा ल्याइएको नगर प्रमुख खगेन्द्र राईले बताए ।
नगर प्रमुख राईका अनुसार आर्थिक वर्ष ०७४÷७५ मा नगरपालिकाको १६ लाख ५० हजार र स्थानीय जनश्रमदान ३ लाख ५० हजार गरी २० लाखको लागतमा बसपार्क सञ्चालनमा ल्याइएको हो । नगरपालिकाले सुरुवाती चरणमा बसपार्क सञ्चालन गर्न उक्त सहयोगमा बेलटार पुस्पलाल चौकनजिकै दक्षिणी भेगको साविक बसस्टेण्डमा प्रारम्भिक पूर्वाधारस्वरुप २ वटा ट्रस प्रविधिको टहरा निर्माण गरिदिएको छ । यसअघि भाडामा कोठा लिएर काउण्टर सञ्चालन हुदै आएको बसपार्क नगरपालिकाले भवन निर्माण गरिदिएपछि सहज भएको यातायात व्यवसायी ज्ञानेन्द्र प्रधानले बताए ।
नव सञ्चालित बसपार्कको प्रधिनिधिसभा सदस्य डा. नारायण खड्का, प्रदेश सांसद विमल कार्की र नगर प्रमुख खगेन्द्र राईले संयुक्त रुपमा उद्घाटन गरे । विगत २० वर्षदेखि बसपार्कविहीन बेलटार बजारमा नयाँ बसपार्क सञ्चालनमा आएपछि यातायात व्यवसायीलाई सहज भएको बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष शम्भु पौडेलले बताए । पौडेलका अनुसार बेलटार क्षेत्रमा लगभग दर्जन लामो तथा छोटा दूरीका ठूला र साना यात्रुबाहक बसहरु सञ्चालन हुदै आएका छन् ।
भिडियोः–