सरकार_मेरो_माक्स_खोलिदेउ (कबिता)

  • अर्जुन बाराहाली

    सरकार !
    न मैले कसैको चोरेको छु,
    न कसैलाई ठगेर खाएको छु,
    न कसैको मन दुखाएर हिडेको छु,
    न मलाई कोहिसँग लुक्नु छ,
    न त कोहिसँग भागेर नै हिड्नु छ,
    तैपनी,
    यो शहरमा किन मैले मुख छोपेर हिड्नु परेको छ ?

    सरकार !
    शहर झर्ने बेलामा बुबाले सम्झाउदै भन्नू भएको थियो,
    बाबू छोरा सधै ज्ञानी हुनु, धेरै पढ्नु,
    मान्छेलाई इज्जत गर्न सिक्नु,
    आफुले इज्जत पाउने काम गर्नु,
    जहिल्यै छाती फुकाएर हिड्ने काम गर्नु,
    समाजमा मुख छोपेर हिड्ने कहिल्यै नहुनु ,
    तर सरकार!
    शहर आएपछी,
    बुबाको सबै आशिर्वाद शिरोपर गर्दा गर्दै पनि,
    मैले मुख छोपेर हिड्नु परेको छ,
    यसर्थ यदि मेरो बुबाले देख्नु भयो भने,
    म नालायक छोरा ठहरिने छु,
    बुबाको नजरमा अपराधी देखिने छु,
    त्यसैले सरकार !
    मेरो माक्स खोलिदेउ ।
    म बुबाले भने जस्तै अशल छोरा भएर हिड्न चाहान्छु ।

    सरकार !
    बालापनदेखि सगै हुर्केको साथिले,
    सगै गुच्चा र लाप्पा खेलेको सहपाठीले,
    मलाई ताते सिकाउने आफन्तहरुले,
    बिच शहरमा भेट्दा,
    म चिनिन सक्दिन,
    छेउबाटै हिड्दा पनि
    मलाई ठम्याउन सक्दैनन् ,
    बिना कशुर मैले आफुले आफैलाई लुकाउनु परेको छ,
    त्यसैले सरकार !
    मेरो माक्स खोलिदेउ,
    म उन्मुक्त भएर हिड्न चाहान्छु ।

    सरकार !
    मेरा पनि भावनाहरु छ्न,
    यौवनमा फुलेका अनगिन्ती रहरहरु छन,
    मनमा तरेली परेका आकाङ्क्षाहरु छन,
    छान्नुछ भिडबाट,
    एउटा सुन्दर,निर्दोष र मायालु अनुहारलाई,
    नियाल्नु छ,
    सुन्दर युवतिका कलेजी ओठहरुलाई,
    र महसुस गर्नुछ,
    भर्खर मायामा परेकी प्रेमिकाको मादक मुस्कानलाई,
    तर सरकार !
    मेरो यौबनको सपनाको बाधक,
    त्यहि माक्स भएको छ,
    त्यसैले सरकार,
    यो शहरबाट तिनिहरु सबैको माक्स हटाईदेउ,
    किनकी पूरा गर्नु छ मैले,
    यौवनका सुन्दर सपनाहरुलाई,
    र जोड्नुछ एउटा घरबार ।

    सरकार !
    तिमी कमिशन खादै सडक बनाउछौ,
    अनि म त्यही सडकमा,
    तिमिले त्यहि कमिसनले किनेको,
    तिम्रो चिप्लो कारले उडाएको धुलो र धुवाँ खादै हिड्नु पर्छ,
    तिमी कमिसन कुम्ल्याउदै घर बनाउछौ,
    अनि म त्यही तिम्रो घर अगाडी,
    चेपारो बाटोमा निस्सासिदै दर्गुर्नु पर्छ,
    हरेक बजेटमा तिमी घोटला गर्छौ,
    अनि म अपराधी झै,
    मुख छोपेर हिड्नु पर्छ,
    त्यसैले सरकार !
    मेरो माक्स खोलिदेउ ।।।  

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *