उदयपुर । सरकारले बैक खाताबाट सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गरेपछि उदयपुरको धेरै जेष्ठ नागरिकले समस्या भोग्नु परेको छ । बृद्धभत्ता लिन अनिर्वाय बैंक पुग्नुपर्ने भएकाले अशक्त, अपाङ्ग, बिरामी अवस्थाका जेष्ठ नागरिकहरुले आफुहरुको भत्ता घरमै पुर्याई दिन आग्रह गरेका छन् । विहिबार त्रियुगा नगरपालिका ८ का छलिमाया राईका आफ्न्तले सिभिल बैंकमा वृद्ध भत्ता लिन सहयोगी छोरा लिएर आएकी थिईन् ।
दमको बिरामी उनलाई लाइनमा बसेको छोरा कुर्न समेत निकै समस्या थियो । कहिले आँखा झ्याप्प हुन्थ्थे त कहिले घाँटी घ्यार घ्यार । उनी कहिले भुईमा लमपसार हुन्थिन त कहिले टुक्रुक्क बस्थिन् । त्रियुगा नगरपालिका गाईघाट भन्दा पाँच किलोमिटर पर शाही खोलाबाट आएकी उनले पहिले पहिले सचिवले घरमै भत्ता दिँदा सजिलो भएको बताईन् । त्रियुगा नगरपालिका वडा नम्बर ८ कै ८३ वर्षिय पंचिदेवी चौधरी पनि खासै हिँड्न सक्दैनन् । बैंकमा अनिवार्य उपस्थित हुनुपर्ने भएपछि पनि उनले नातिनीलाई सहयोगीका रुपमा ल्याएका थिए ।
उनले गुनासो गर्दै भनिन् ‘असक्त रोगी बिरामीलाई घरमै दिनु पर्ने हाम्रो दुःख कसले बुझ्ने ?’ सामाजिक सुरक्षा भत्ता कृषि विकास बैंक, ग्लोबल आईएमई बैक, सनराइज बैंक, सिभिल बैंक, एनआईसी एसिया बैंक, लक्ष्मी बैंक, एनसीसी बैंकबाट सामाजिक सुरक्षा भत्ता लिने गरेका छन् । तर, बैंक गाउँ गाउँको पायक पर्ने ठाउँमा नहुँदा जेष्ठ नागरिकले थप समस्या भोग्नु परेको हो । भने, बैंकले त्यस्ता अशक्त जेष्ठ नागरिकलाई प्राथमिकतामा राखेर सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था पनि गरेको छैन ।