उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका वडानं १ डहरका आगोलागी पीडित ५ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ ।
माघ १ गते दिउँसो दलित बस्तिमा अचानक सल्केको आगोबाट घर गुमाएका कर्णबहादुर बिक, सम्झना, रणबहादुर, मेघबहादुर र चक्रबहादुर विकलाई गाउँपालिका, वडा कार्यालय र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाले राहत सामग्री उपलब्ध गराएका हुन् ।
आगोलागीबाट पूर्र्णरुपले घरग्वाली, लत्ताकपडा, अन्न, नगद तथा अन्य जिन्सी गरी १७ लाख बराबरको धनमाल गुमाएका पीडित परिवारलाई रेडक्रस सोसाईटीले एकसरो सामग्री गाउँपालिकाले प्रति परिवार ३ हजार, कमल, त्रिपाल, कपडा, भाडाँवर्तन, वडा कार्यालयले प्रति परिवार १ बोरा चामल राहतस्वरुप उपलब्ध गराएको गाउँपालिकाका प्रवक्ता खविन्द्र राँस्कोटीले जानकारी दिए ।
आगोलागीबाट ५ घरपरिवारका २४ जना विचल्निमा परेकाछन् । सम्पति पूर्णरुपमा ध्वस्त भएपछि नयाँ घर बनाउन, खानलाउन र छोराछोरको पठ्नपाठनमा समस्या उत्पन्न भएको पीडित सम्झना बिकले बताईन । उनले भनिन्, ‘सम्पति जति सबै जलि हाल्यो, अव के खानु, के ले घर बनाउन र छोराछोरी पढाउनु, दुई चार छाक खान र लगाउनका लागि राहत उपलब्ध भएपनि घर बनाउने रकम उपलब्ध भएको छैन् ।’
पीडितहरुलाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्का, उपाध्यक्ष कुमारी राना ज्यु ठकुरी, पुर्वसभाषद रेवतीरमण भण्डारी, वडाध्यक्ष रुद्रबहादुर कार्की र गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज आचार्यले हस्तान्तरण गरेका थिए । त्यसक्रममा अध्यक्ष खड्काले वितरित सामग्री तत्कालका लागि राहत मात्र भएकाले उनीहरुको थप व्यवस्थापन गरिने बताए ।