छोरो बिदेशीको धर्मपुत्र बनेपछि १३ वर्षदेखि आमा भौतारिदै

nigarani-suchana उदयपुर । एक आमा १३ बर्षदेखि आफ्नो सन्तानलाई भेट्न उदयपुरमा भौतारिरहनु भएको छ । आफ्नै आमा (माईतीतर्फ) लाई विश्वास गरेर काठमाडौं पढ्न पठाएको छोरो गौरब सुवेदीलाई थाहै नदिइ धर्मपुत्र बनाएर विदेशीलाई पठाईएपछि जिल्लाको त्रियुगा नगरपालिका ७ चुहाडेकी कमला सुवेदी भौतारिरहनु भएको हो । कमलाकी आफ्नै आमा ६२ बर्षिया टंकमाया रेग्मीले काठमाडौंमा राम्रो शिक्षादिक्षा दिलाउछु भनेपछि विश्वासका साथ जिम्मा लाएको छोरो धर्मपुत्रको रुपमा विदेशीलाई दिइएको थाहा पाएपछि छाँगाबाट खसे झै भएको ४२ बर्षिया कमलाले बताउनुभयो ।

२०६१ सालमा लगेको छोरोलाई काठमाडौं नक्सालको बालमन्दिरमा पढाउदै गरेको भन्दै आमा टंकमायाले दुई दशैं घरमा ल्याएपनि त्यसपछिको अवस्थामा विदेश पढ्न गएको भनी सम्पर्क र भेट नगराएको कमलाले बताउनुभयो । २०६४ सालमा विदेशको तस्बिर पठाइदिएको तर, त्यसपछिको अवस्थामा तस्बिरसमेत नपाएको उहाँले बताउनुभयो । दशबर्ष अघि विदेशबाट प्राप्त त्यहि तस्बिर हेरेर टोलाईरहने कमला घरीघरी छोरा सम्झेर भक्कानिने गर्नुहुन्छ । ७ वर्षको उमेरमा लगिएको छोरो गौरबको उमेर अहिले २० बर्ष भएको उहाँले बताउनुभयो ।

छोरो, विदेशबाट हरेक दुईबर्षमा भेटघाटका लागि आउछ, नआउदा फोटो पठाउछ भनिएकोमा छोरोसंग नत भेटघाट, न त फोटो भएपछि कमलाले आमा टंकमायासंग झगडै गर्नुपर्ने अवस्था पुगेको छ । छोरोको फोटोसमेत पाउन छाडेपछि आमासंग कुरा गर्दा अर्को दुईवर्ष भन्दै दशौंबर्ष विताएपछि कमलाले प्रशासनलाई समेत गुहार्न पुग्नुभएको छ । ”आमाको विश्वासमा पढ्न पठाएको हुँ, धर्मपुत्र बनाउन हैन” भक्कानिदै कमलाले भन्नुभयो “धर्मपुत्र दिनुभन्दा त बरु दुःख गरेर आफै हुर्काउथेँ, पढाई राखेकै पनि थिएँ ।” कमलाले थप्नुभयो “आमाले नातीको भविष्य राम्रो हुनेगरी पढाउने व्यवस्था मिलाईदिन्छु भनेर मात्र दिएकी हुँ ।

आफ्नो छोरो कसैलाई धर्मपुत्र बनाएर दिने कुरा म सोच्न पनि सक्दिन” । कमलाको छोरो गौरबलाई धर्मपुत्रको रुपमा विदेशीलाई दिएको बुझिएको छ । सुरुमा कमलाकी आमा टंकमायाले काठमाडौंको नक्साल स्थित बालमन्दिर विद्यालयमा भर्ना गराई दुईबर्षसम्म राखेको र त्यहिबाट विदेशीलाई धर्मपुत्र दिएको हो ।

कमलाकी आमा स्वयम् टंकमायाले नाती गौरबलाई धर्मपुत्रकै रुपमा विदेशीले लगेको तर, कुन देश, कस्ले लगेको भन्ने कुरो थाहा नभएको बताउनुभयो । नातीको उज्जल भविष्यको लागि बालमन्दिर भर्ना गरी बाहिर पठाएको उहाँको जीकिर छ । बालमन्दिर नक्सालका निर्देशक बालकृष्ण डंगोलले हजुरआमा र मामाले विद्यालयमा भर्ना गराई उनीहरुकै सहमतिमा धर्मपुत्र पठाइएको बताउनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *