प्रअको कुटपिट गर्ने प्रयासपछि नापी कार्यालय उदयपुर बन्द

उदयपुर । एक सेवाग्राहीले अभद्र व्यवहार गरेको भन्दै नापी शाखा कार्यालय उदयपुर अनिश्चितकालीन बन्द भएको छ । मंगलबार विहान कार्यालय प्रमुख श्यामबाबुप्रसाद साहमाथि हातपातको प्रयास भएको भन्दै मध्यान्ह १२ः३० बजेदेखि कार्यालयको सम्पूर्ण कामकाज कर्मचारीले बन्द गरेका हुन् । कार्यालय प्रमुख साहले आफ्नै कार्यकक्षामा त्रियुगा उमावि गाईघाटका प्रअ सुबास विष्टले कुटपिटको प्रयास गरेको आरोप लगाएका छन् ।

सदरमुकाम गाईघाटस्थित एक व्यक्तिको बिबादित जग्गाबारे छलफल गर्न बोलाएका बेला विष्टले एक्कासी गाली गलौज गरी हातपातको प्रयास गरेको साहको आरोप छ । साहका अनुसार गाईघाट ३÷क कित्ता नम्बर ८१७ को अशोक साहको नाममा रहेको बिबादित जग्गाको विषयमा टुंगो लगाउन त्रियुगा नगरपालिका, सँधियारहरु त्रियुगा उमावि, असिम मिया, रञ्जु अधिकारी र योगवली थापालाई मंगलबार छलफलका लागि नापी कार्यालयमै बोलाइएको थियो । अदालतमा बिचाराधिन रहेको ३ कठ्ठा क्षेत्रफलको उक्त जग्गाबारे छलफल गर्नेक्रममा दुईपक्षबीच चर्को बिबाद उत्पन्न भएको प्रत्यक्षदर्शीले बताए ।

प्रअ विष्टले भने आफुले साहमाथि हातपात गर्न खोजेको भन्ने कुरा गलत भएको बताए । ३ वर्षदेखि अदालतमा विचाराधिन रहेको साहको सो जग्गा व्यक्तिगत प्रलोभनमा परेर कार्यालय प्रमुख साहले टुंगो लगाउने बहानामा अधिकारभन्दा बाहिर गएर आफुहरुलाई छलफलमा बोलाएको गुनासो विष्टको छ । विद्यालयको सम्पत्तिको रक्षा गर्नु एउटा प्रअको नाताले कर्तव्य भएको कुरा सम्झाउन खोज्दा साहसँग सामान्य बिबाद भएको तर, हातपात गर्न खोजेको भन्ने आरोप सरासर झुटो रहेको विष्टको भनाई छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *