गजेन्द्र राई
उदयपुर । लागुऔषध नियन्त्रणमा सफलता प्राप्त गर्दै आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले निकै मेहनतपछि लागुऔषध कारोबारीका मुख्य २ नाईकेसहित ५ जनालाई पक्राउ गरेको छ । आईतबार प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख एसपी नवराज भट्टले वरामद लागुऔषध र पक्राउ परेका सबैलाई सार्वजानिक गरेका हुन् ।
प्रहरीले शनिबार राती ११ वजेको समयमा जिल्लाभरका सेवनकर्तालाई विक्री गर्ने त्रियुगा नगरपालिका १० बोक्से घर भई वडानं ११ मा बस्दै आएका ३० बर्षीय पेशलकुमार घिमिरेलाई ठुलो परिणामको लागुऔषधसहित पक्राउ गरेको हो । घिमिरेको साथबाट प्रहरीले ३४ एम्पुल डाईजाल्याव, ३५ एम्पुल फेनरागन, ३४ एम्पुल लेवल नभएको फेनरागन, नगद ३ हजार २ सय रुपिँया र एलवाईएफ मोवाइल सेट १ थान बरामद गरिएको प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिए । प्रहरीलाई देख्नसाथ घिमिरेले झोलामा राखेका लागुऔषध ओछ्यानमा राखी हातले मिडेर नष्ट गरेको अबश्थामा बरामद गरिएको भट्टको भनाई छ ।
त्यसैगरी छिमेकी मुलुक भारतबाट सिरहा हुँदै उदयपुर जिल्लामा सप्लायर्सको काम गर्दै आएका सिरहा जिल्लाको लाहान नगरपालिका ३ का १९ बर्षीय राजु भनिने राजकुमार यादवलाई आईतबार दिउँसो १ बजे लागुऔषध पेन्टीभित्र राखेर ल्याउँदै गरेको अबश्थामा पक्राउ गरिएको एसपी भट्टले जानकारी दिए । यादवले २५ एम्पुल डाईजाल्याव, २५ एम्पुल फेनरागन, २५ एम्पुल लेवल नभएको फेनरागन पेन्टिभित्र लुकाएर जिल्लाका व्यापारी घिमिरेको घरमा लैजाँदै गरेकोअबश्थामा नगद ८ हजार ४ सय ३० रुपिँया र नोकिया मोवाइल सेट १ थानसहित बरामद गरिएको हो । प्रहरीले निगरानी बढाएपछि यादवले पेन्टिभित्र राखेको लागुऔषध गाडीको सिटमा बस्दा फुटने डरले ढोकामा झुण्डिएर सवारत गरेर गाईघाट भित्र्याएका प्रारम्भिक वयानबाट खुलेको छ ।
त्यस्तै प्रहरीले आईतबार दिउँसो ४ बजे लाहानबाट जिल्लाको सदरमुकाम गाईघाटतर्फ आउँदै गरेको ना.५.ख.३७५६ नम्बरको नरसिंह ट्राभल्स बसलाई त्रिनपा ६ लालपत्ता प्रहरी चौकीले चेकजाँचकाक्रममा त्रिनपा १२ का अनिल मगरलाई १८ एम्पुल डाइजाल्यावसहित पक्राउ गरेको छ ।शनिबार बेलुका १० बजे त्रिनपा ११ पुरानोगाईघाट बुद्धचौकका १९ बर्षीय अर्जुन चौधरीलाई प्रहरीले चुरोटको खोलभित्र १÷१ एम्पुल लुपिजेसिक फेनरागन राखेको अबश्थामा स.४.प.६३७७ नम्बरको यामहा कम्पनीको मोटरसाईकलसहित पक्राउ परेपछि कारोवारी पक्राउ गर्न सफल भएको हो । चौधरी पक्राउ परे लगत्तै प्रहरीले वयानका आधारमा चौधरीलाई लागुऔषध लिन पठाउने त्रिनपा ११ पुरानोगाईघाटका विजय विकलाई पक्राउ गरेको जनाएको छ ।
विजय पछि पेशललाई पक्राउ गरिएको र पेशलको मोवाईलबाट प्रहरीले निगरानी गरी उसैलाई बोल्न दिई राजकुमारलाई लागुऔषध ल्याउनेक्रममा पक्राउ गरिएको एसपी भट्टले जानकारी दिए । योसँगै साउन २६ गते जिल्ला प्रहरी कार्यालयमा हाजिर भएका एसपी भट्टले लागुऔषधविरुद्धको कारवाही चलाउँदा ४९ जनालाई पक्राउ गरी २३ वटा मुद्दा दर्ता गरेको जानकारी दिएकाछन् । यसअघि प्रहरीले पक्राउ परेका सबैजनालाई अन्य कुनै सूचनाभन्दा पनि नियमित चेकजाँचकाक्रममा सदरमुकाम प्रवेश गर्ने मुख्य नाका त्रियुगा नगरपालिका ६ लालपत्ताबाट पक्राउ गरेको जनाएको छ ।
एसपी भट्टले लागुऔषध कारोवारी र सेवनकर्ता न्युनिकरणका लागि विशेष योजना बनाएर लागि परेको बताए । उनले भने, ‘उदयपुरमा यस्तो भयाभ छ जस्तो लागेको थिएन्, सोचेभन्दा बढि मात्रामा पक्राउ परिरहेकाछन् ।’ उनले सेवनकर्ता मात्र नभई मुख्य कारोवारी नाईके नै पक्राउ गर्न प्रहरी सफल भएको बताए । यधपि चुपलागेर बस्न सक्ने अबश्था नरहेको बताउँदै उनले अझ निगरानीलाई बढाउने बताए । उनले सबै क्षेत्रको साथसहयोगबाट मात्र लागुऔषध नियन्त्रण हुने भन्दै लगत्तै जनचेतनामुलक कार्यक्रम सञ्चालन, व्यापारीलाई कानुनी कारवाही र सेवनकर्तालाई कारवाही भन्दा पनि सुधारगृह स्थापना गरी परामर्श आबश्यक रहेको बताए ।