उदयपुर १४ घण्टादेखि अन्धकार

उदयपुर- विद्युत आपूर्ति नभएका कारण उदयपुर गएको १४ घण्टादेखि अन्धकार रहेको छ। शुक्रबार राति ११ बजेदेखि अवरुद्ध भएको विद्युत शनिबार १ बजेसम्म सुचारु हुन सकेको छैन। लगातार १४ घण्टादेखि विद्युत अवरुद्ध भएका कारण जिल्लाबासीको जनजीवन प्रभावित भएको छ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र उदयपुरले गाईघाट–लाहान खण्डको जलजले–लालपत्ता बीचको लाईनमा ‘फल्ट’ आएकाले विद्युत अवरुद्ध हुन पुगेको जनाएको छ। राति विद्युत अवरुद्ध हुँदा सिस्टम फेल भएको र केहीक्षेणमै सुचारु हुने फ्युजसेवाले जनाएको थियो। तर, लगातार यति लामो समयसम्म विद्युत आपूर्ति नभएपछि मात्र ११ हजार किलोभोल्टको मुख्य लाईनमा समस्या आएको पत्तो लागेको प्राधिकरणका इन्जिनियर कृष्ण शर्माले बताए।

सो रुटको लाईन मर्मतका लागि प्राविधिकहरुलाई खटाईसकिएको तर, लगातार वर्षा भएकाले मर्मत गर्न गाह्रो भईरहेको उनले बताए। ‘हामीले प्राविधिक खटाईसकेका छौं, वर्षा भएकाले केही ढिलो भएको हो’ उनले भने ‘पानी परे पनि मर्मत गरेर केही घण्टाभित्रै विद्युत सुचारु हुन्छ।’ शनिबार भएकाले अधिकतर अप्राविधिक कर्मचारी घर गएकाले कर्मचारीको संख्या कम हुँदा मर्मतमा ढिलाई हुन पुगेको प्राधिकरणले जनाएको छ।

टेलिफोन पनि अवरुद्ध

निरन्तर वर्षा, विद्युत अवरुद्ध भएसँगै उदयपुरमा टेलिफोन सेवा पनि अवरुद्ध हुन पुगेपछि जिल्लाबासी मारमा परेका छन्। नेपाल टेलिकमको पिएसटिएन (ल्याण्डलाईन) सेवा अघिल्लो साँझदेखि नै अवरुद्ध भएकोमा अहिलेसम्म सुचारु हुन सकेको छैन।

टेलिकमबाट वितरित ल्याण्डलाईन, जिएसएम प्रिपेड र स्काई फोन रातिदेखि नै अवरुद्ध भएको छ। पोष्टपेडमा आएको समस्या भने केही घण्टामै सुचारु भएको छ। क्षेत्रीय कार्यालय इटहरीको प्रविधि शाखामा पानी चुहेर फाईबरमा गडबडी आउँदा टेलिफोन अवरुद्ध हुन पुगेको उदयपुरस्थित कार्यालय प्रमुख धमेन्द्र यादवले बताए।

‘इटहरीस्थित हाम्रो कार्यालयको इक्विपमेन्ट शाखामा वर्षाको पानी चुहेर प्रबिधिमा गडबढी आएको रहेछ’ यादवले भने ‘सबै सेवा अवरुद्ध भएकोमा पोष्टपेड चाही सुचारु भईसक्यो, अव ल्याण्डलाईन, प्रिपेड र स्काई पनि सुचारु गर्न मर्मत कार्य भईरहेको छ।’ उनले दिनभरीमा सबै सेवा सुचारु गर्नेगरी मर्मत कार्यमा प्राविधिक टोली खटिरहेको बताए।

टेलिकमले उदयपुरमा १ हजार ५ सय बढी ल्याण्डलाईन फोन वितरण गरेको छ भने १४ हजार बढी जिएसएम प्रिपेड मोवाई सिम वितरण गरेको छ। स्काई र पोष्टपेड मोवाईल भने त्यसको दाँजोमा केही कम रहेको यादवले बताए। २४ घण्टादेखिको लगातार वर्षा, १४ घण्टादेखिको विद्युत अवरुद्ध र त्यत्ति नै समयदेखिको फोन अवरुद्धले उदयपुरको जनजीवन प्रभावित पारेको नागरिक समाजका अगुवा भरत खड्काले बताए।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *