सबैका अजेण्डा ‘सुन्दर नगर’

खोटाङ– आसन्न स्थानीय तहको निर्वाचनमा मतदातालाई फकाउनका लागि खोटाङका राजनैतिक दलले थरिथरिका अजेण्डा अघि सारेका छन्। असार १४ गते हुने स्थानीय तहको निर्वाचन परिणाम मतदाताको मन जित्नका लागि अधिकांश दलको चुनावी अजेण्डा भौतिक विकास, शिक्षा, स्वास्थ्य, सडक, कृषि, विद्युत, उद्योग, प्राकृतिक श्रोत, पर्यटन, संस्कार संस्कृति, रोजगारी लगायतको विषयमै केन्द्रित छ। दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजबादी फोरम लगायतका दलले सार्वजनिक गरेको अजेण्डामा थरि–थरिका आश्वसन समेटिएका छन् । कतिपय एजेण्डा महत्वकांक्षी देखिएको टिप्पणी भइरहेको छ।

कांग्रेसले नगरपालिकालाई पुर्वाञ्चलकै नमूना, सुन्दर, शान्त, सभ्य, सु–संस्कृत र संबृद्ध बनाउने अजेण्डा अघि सारेको छ । नगरपालिकालाई पुर्वाञ्चलकै नमूना सफा सुन्दर शहर बनाउने, वर्ष दिनभित्रै बजार क्षेत्रको सडक कालोपत्रे गर्ने, ढल, खानेपानी र आधुनिक सञ्चार, बिद्युत सेवाको व्यवस्थापन गर्ने, दिक्तेलबजारमा शहरी मापदण्डका सुबिधा उपलव्ध गराउने, खोटाङबजार, ऐसेलुखर्क, चिसापानी, सिमपानी, हलेसी, अर्खौले लगायतका बजारलाई सुन्दर नगरकोरुपमा बिकास गर्ने अजेण्डा घोषणापत्रमा समावेस गरेको छ । यस्तै, सडक, विद्युत, सूचना तथा सञ्चार प्रविधि, एकीकृत ग्रामिण वस्ती बिकास एबं सुकुम्बासी समस्या समाधान, एकीकृत ग्रामिण बस्तीका लागि सम्भावित स्थान छनौट गरेर नगरपालिका तथा गाउँपालिकालाई व्यवस्थित र सुन्दर नगर बनाउने कांग्रेसले प्रतिबद्धता अघि सारेको छ।

कांग्रेसले हरेक गाउँपालिका र नगरपालिकाका केन्द्रलाई स्थानीय सडक सञ्जालले जोड्ने, हरेक गाउँ तथा नगरपालिकामा चक्रपथ निर्माण गरेर ग्राभेल एबं कालोपत्रे गर्ने, जयरामघाट–हलेसी–दिक्तेल–चखेवाभञ्ज्याङ सडकलाई यथाशिघ्र कालोपत्रे गर्न पहल गर्ने, गाईघाट–दिक्तेल सडक स्तरोन्नतीको कामलाई तिव्रता प्रदान गर्ने लगायतका योजना अघि सारेको छ । खेतीपाती, पशुपालन, फलफुल खेतीलाई व्यवसायीकरण गर्न प्रत्येक गाउँपालिका र नगरपालिकालाई ‘एक टोल एक उत्पादन’ कार्यक्रम सञ्चालन गर्ने, उत्पादनको सहज बिक्रीका लागि ‘एक वडा एक हाटबजार’को योजना ल्याउने, रावा, बुवाँ, साप्सु खोलाबाट विद्युत उत्पादन गरेर पाँच वर्षभित्र जिल्लालाई लोडसेडिङमुक्त बनाउने, प्रत्येक गाउँपालिका र नगरपालिकामा ‘इ–चौतारी’ स्थापना गर्ने, ‘एक विपन्न परिवार–एक सिप सिकाई केन्द्रमा निशुल्क अवशर’ सिर्जना गर्ने, स्थानीय कर संकलन, आधारभुत र माध्यमिक शिक्षाको व्यवस्था गर्ने, आधारभुत स्वास्थ्य र सरसफाई एबं पर्यावरण संरक्षण/संबद्र्धन गर्ने, ज्येष्ठ नागरिक, शिशु एबं फरक क्षमता भएका व्यक्तीलाई सुबिधा, जलाधार संरक्षण एबं कृत्रिम तालतलैया निर्माण, प्राकृतिक प्रकोप तथा विपद व्यवस्थापन, शहिद घोषणा र परिवारलाई राहतको व्यवस्था, धार्मिक–साँस्कृतिक एबं पर्यटन प्रवद्र्धन लगायतका अजेण्डा जनतामाझ ल्याएको छ।

देशकै नमूना र गन्तव्य नगर बनाउने एमालेको योजना

नेकपा एमालेले रुपाकोट मझुवागढी नगरपालिकालाई देशकै नमूना र गन्तव्य नगर बनाउने योजना अघि सारेको छ । स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले नगरपालिकालाई अधिकार सम्पन्न नगर बिकास प्राधिकरण गठन गरी नेपालकै नमूना र गन्तव्य शहर बनाउने अजेण्डा सार्वजनिक गरेको छ। एमालेले रुपाकोट मझुवागढी नगरपालिकामा स्वर्ण दिक्तेल रुपाकोट मझुवागढी चक्रपथ निर्माण गर्ने, १५ वटै वडामा निर्माण भइसकेका सडकको स्तरोन्नती गर्दै सडक नपुगेका ठाउँमा सडक बिस्तार गर्ने, दिक्तेल बजारभित्रका सडकमा खानेपानीको पाइपलाईन व्यवस्थित गर्ने, ढल निकासको उचित प्रबन्ध गर्ने, लोडसेढिङमुक्त उज्यालो नगर बनाउन नगरको १ र २ वडाका सडकमा सौर्य उर्जा जडान गर्ने, दुई वर्षभित्र काठे पोल हटाएर फलामे पोल राख्ने, नगरपालिकाको मूख्या ठाउँको पहिचान गरेर एकीकृत वस्ती विकास गर्ने अजेण्डा अघि सारेको छ।

‘एक घर एक रोजगारी’, गुणस्तरयुक्त र कार्यक्रम विस्तारयुक्त क्याम्पस, एक नगर एक व्यवस्थित प्राविधिक शिक्षालय, नगरपालिकामा इन्जिनियरिङ क्याम्पस, मेडिकल कलेज जस्ता प्राबिधिक शिक्षालय स्थापना गर्ने, पाँच वर्षभित्र सबै वडाका गरिब परिवारलाई कर्कटपातायुक्त छानाको प्रबन्धका लागि अनुदान उपलव्ध गराउने, एक नगर एक औधोगिक ग्राम तथा एक वटा एक उद्योग स्थापना गर्ने, भ्रष्टाचारमुक्त नगर बनाउने, रुपाकोट, मझुवागढी र महुरेगढीमा बोटानिकल गार्डेन र खुल्ला चिडियाखाना निर्माण गरी पर्यटन प्रबर्धन गर्ने, रुपाकोटमा पाराग्लाईडिङको सम्भाव्यता अध्ययन गरी सञ्चालन गर्ने, ग्रामिण कृषि पर्यटनको विकास गर्ने, दिक्तेल–रुपाकोट–टेम्के–मझुवागढी केबुलकारको सम्भाव्यता अध्ययन गर्ने एमालेका अजेण्डा हुन्0।

‘सम्बृद्ध नगर’ माओवादी केन्द्रको सपना 

नेकपा माओबादी केन्द्रको पनि रुपाकोट मझुवागढी नगरपालिकाले ‘संबृद्ध नगर’ निर्माण गर्ने अजेण्डा मतदाता समक्ष पुर्‍याएको छ। संबिधानले संस्थागत गरेको ऐतिहासिक राजनैतिक परिवर्तनलाई सामाजिक, आर्थिक र साँस्कृतिक रुपान्तरणसँग जोडेर ‘संबृद्ध नगर, सुखी नगरबासी’को परिकल्पनालाई साकार पार्ने माओवादी केन्द्रको घोषणापत्रमा उल्लेख छ । एक वडा एक उत्पादनको नीति अवलम्ब गर्दै वडालाई शैक्षिक क्षेत्र, स्वास्थ्य सेवा क्षेत्र, खेलकुद विकास, मनोरञ्जन पार्क, वनस्पति उद्यान, साँस्कृतिक सम्पदा, संग्रहालय, उद्योग तथा कलकारखाना क्षेत्र, विज्ञान तथा प्रविधिपार्क एबं प्रदर्शनी केन्द्र, व्यापारिक तथा व्यापारिक प्रदर्शनी केन्द्र तथा पर्यटन क्षेत्रको बिशेष क्षेत्र बनाउने माओबादी केन्द्रको परिकल्पना छ।

संबृद्ध नगर निर्माणका लागि सुरक्षा र सुशासन मार्फत परिवर्तनको प्रत्याभुती, भवन तथा शहरी विकास, सडक सञ्जाल, पुल पुलेसा, शिक्षा, स्वास्थ्य, खानेपानी, महिला, बालबालिका तथा समाजकल्याण, कृषि विकास, निष्पक्ष, जनउत्तरदायी र समतामुलक न्यायसेवा, भाषा–संस्कृति र पहिचान, कर प्रणाली, सुचना र सञ्चार, भूमी, भूकम्प र पुःननिर्माण, वन र पर्यबरणीय सुरक्षा, ढल निकास तथा फोहोरमैला व्यवस्थापन, उद्योग, बाणिज्य र व्यापार, रोजगारी एबं आर्थिक विकास, पर्यटन विकास, उपभोक्ता हितमुखी बजार व्यवस्थापन, प्राकृतिक श्रोतमाथि स्थानीय जनताको अग्राधिकार, युवा र खेलकुद, यातायात, विद्युत, नविकरणीय उर्जा, वित्तीय संस्था, विपद व्यवस्थापन, अव्यवस्थित घरजग्गा तथा सुकुम्बासी व्यवस्थापन, विमानस्थल स्तरोन्नती लगायतका काम गरेर संबृद्ध नगरको सपनालाई साकार पार्ने माओबादी केन्द्रको प्रतिबद्धतापत्रमा उल्लेख छ।

दिक्तेललाई आधुनिक शहर बनाउने संघीयको अजेण्डा

संघीय समाजवादी फोरम र नयाँ शक्तीको संयुक्त मोर्चाले नगरपालिकालाई सुबिधा सम्पन्न आधुनिक शहरको रुपमा बिकास गर्ने अजेण्डा जनतामाझ ल्याएको छ। उसले विकृति विसंगती हटाउँदै नगरलाई भ्रष्टाचारमुक्त एबं आदर्श प्रशासनिक केन्द्रकोरुपमा बिकास गर्ने, रुपाकोट मझुवागढी नगरपालिका–३, ४ र ५ मा चार लेनको चक्रपथ निर्माण गर्ने, एकीकृत बस्तीको बिकास गरी हरित शहर निर्माण गर्ने, नेर्पामा बाल बिश्वविद्यालय, चिल्ड्रेन पार्क, अध्ययन/अध्यन केन्द्र निर्माण गरेर बाल शैक्षिक गाउँ बनाउने, कृषि अनुसन्धानालय निर्माण गर्ने, आधुनिक कृषि प्रविधिको उचित प्रयोग गर्दै आधुनिक खेतीको सुरुवात गर्ने, कृषि विश्वविद्यालय निर्माण गर्ने, हलेसी–तुवाचुङ–मझुवागढी हुँदै साप्सुधापलाई सडकले जोडेर साँस्कृतिक गाउँ बनाउने, पाथेका, खार्मी, जालापाको प्राकृतिक श्रोत र साधनको उचित उपयोग गर्दै रुपाकोट क्षेत्रमा जैविक विविधताको संरक्षण एबं संबद्र्धन गर्दै जडिबुटीयुक्त उद्यान, औषधि अनुसन्धान केन्द्र निर्माण गर्ने लगायतका अजेण्डा अघि सारेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *