धरान, २७ जेठ – करिब २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न जिल्लाका सर्वसाधारण उत्साह र उमङ्गका साथ असार १४ को व्यग्र प्रतीक्षामा छन् ।
दुई उपमहानगरपालिका, चार नगरपालिका र छ वटा गाउँपालिका भएको सुनसरीका मतदाता स्थानीय विकासका माग र आवश्यकता पूरा गर्ने उम्मेदवारलाई मतदान गर्नुपर्ने भन्दै एकापसमा सरसल्लाह गरिरहेका छन् ।
यहाँका चिया पसल, हाट, मेलापात, सामाजिक कार्यक्रम र जमघटका छलफल र बहसको विषय स्थानीय चुनाव भएको छ भने राजनीतिक दलका नेता तथा कार्यकर्ता प्रचारप्रसारमा व्यस्त भएका छन् ।
सार्वजनिक यातायातका साधन र राजनीतिक दलका नेता तथा कार्यकर्ताका घर पसलमा दलका झन्डा फहराइएका छन् भने दलगत एवम् व्यक्तिगत रुपमा उम्मेदवार घरदैलो कार्यक्रममा जुटिरहेका छन् ।
चार लाख २१ हजार १५९ मतदाता रहेको सुनसरी जिल्लामा चुनावी प्रचारप्रसारको विश्लेषण गर्दा रामधुनी र दुहबी नगरपालिकामा नेपाली काँग्रेसको बलियो स्थिति देखिन्छ भने धरान उपमहानगरपालिका, इनरुवा र बराह नगरपालिकामा नेकपा एमालेको उपस्थिति सुदृढ पाइएको छ । यद्यपि, एमालेले धरान उपमहानगरमा नगर प्रमुखका उम्मेदवार घोषणा गरिसकेको छैन ।
इटहरी उपमहानगरपालिकामा काँग्रेस र एमालेबीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ । धरानमा पनि अवस्था त्यस्तै छ । काँग्रेसले कमजोर उम्मेदवार उठाएकाले आफ्नो पक्षका उपमहानगर प्रमुखलाई जिताउन आफूहरुलाई हम्मेहम्मे पर्ने काँग्रेसी कार्यकर्ता बताउँछन् ।
बर्जु, गढी, देवानगन्ज, हरिनगरा, भोक्राहा र कोसी गाउँपालिकामा फोरम लोकतान्त्रिक र नेपाली काँग्रेसबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । बर्जु गाउँपालिका–३ का फातेचन चौधरी एमालेलाई पनि कम आँक्न नमिल्ने बताउँछन् । केही गाउँपालिकामा नेकपा माओवादी केन्द्रको पनि सङ्गठन सुदृढ रहेकाले काँग्रेस, एमाले र माओवादी केन्द्रबीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
शिक्षण पेसाबाट निवृत्त हुनुभएका शीशाम्बर झा सुनसरी जिल्लामा काँग्रेस र एमालेबीच नै कडा प्रतिस्पर्धा हुने बताउँछन् । उनी भन्छन् – “निर्वाचनप्रति सुनसरीका तराइवासी सबै सकारात्मक छन् । तराई मधेसका नेताप्रति उनीहरुका केही असन्तुष्टि भए पनि मतदानमा सहभागी हुन्छन् । चुनावमा सामेल नभए पछि परिन्छ भन्ने उनीहरुको बुझाइ छ ।”
यसैबीच, जिल्ला निर्वाचन कार्यालयले जिल्लाका सबै मतदान केन्द्रमा खटिने ६०० मतदान अधिकृतको सूची सार्वजनिक गरेको छ ।