



उदयपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी उदयपुरमा पूरा भएको छ । बिहीबारदेखि सुरु हुने परीक्षामा उदयपुरका ५ हजार ६ सय १२ जना परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाई उदयपुरले जनाएको छ ।
एकाई प्रमुख भवानीप्रसाद कट्टेलले भने, यस वर्ष सामुदायिकतर्फ १ सय १६ विद्यालयका २ हजार ९ सय २३ र संस्थागततर्फ ४३ विद्यालयका २ हजार ६ सय ८९ गरी ५ हजार ६ सय १२ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । उनले भने अनुसार परीक्षामा ४ हजार ५ सय ३ छात्रा र १ हजार १ सय ९ छात्र रहेका छन् ।
कट्टेलले भने, नियमित (साधारण)तर्फ ५ हजार १ सय ४१ र प्राविधिकधारतर्फ १ सय ७८ जना सहभागी हुनेछन् भने ग्रेडवृद्धितर्फ २ सय ९३ जना रहेका छन् । उनले भने अनुसार १ सय ५९ विद्यालयका विद्यार्थीका लागि जिल्लाभर २२ वटा परीक्षा केन्द्र तोकिएका छन् ।
उनले भने, त्रियुगा नगरपालिकामा ८ केन्द्र, कटारी, चौदण्डीगढी र बेलका नगरपालिकामा ३–३ केन्द्र तथा उदयपुरगढीमा २ र लिम्चुङबुङ, रौतामाई र ताप्लीमा १–१ केन्द्र कायम गरिएको छ । कट्टेलले भने, गत वर्षको तुलनामा परीक्षार्थी संख्या घटेकाले यस वर्ष ४ वटा केन्द्र घटाइएको हो ।
उनका अनुसार गत वर्ष ५ हजार ८ सय ८९ परीक्षार्थी रहेकोमा यस वर्ष ५ हजार ६ सय १२ मात्र रहेका छन् । उनले भने, परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्षदेखि सुरक्षाकर्मीसम्म गरी ८ सय ६४ जना परिचालन गरिनेछन् ।