



उदयपुर । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि उदयपुर जिल्लामा किशोरी लक्षित ह्युमन पापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले शुक्रवार पत्रकार तथा सरोकारवालाहरुसँगको एक अन्तरक्रिया कार्यक्रममा सो कुरा जानकारी दिइएको हो ।
अभियानअन्तर्गत यस वर्ष जिल्लाभरका कक्षा ६ मा अध्ययनरत तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप दिइनेछ । यससँगै अघिल्लो वर्ष खोप लिन छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा ११ देखि १४ वर्ष उमेर समूहका विद्यालय बाहिर रहेका किशोरीलाई पनि समेटिने जनाइएको छ ।
खोप वितरणका लागि जिल्लाभर ३४९ खोप केन्द्र स्थापना गरिनेछ । अभियान सफल बनाउन ३६३ जना स्वास्थ्यकर्मी र ३९४ जना स्वयंसेवक परिचालन गरिने कार्यालयले जनाएको छ । खोप कार्यक्रम माघ २६ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन हुनेछ ।