गाईघाटमा पहिलो महिला फुटबल प्रतियोगिता आयोजना हुँदै

उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा पहिलोपटक अन्तर्राष्ट्रिय मापदण्डअनुसारको एन्फा महिला फुटबल च्याम्पियनसिप आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा त्रियुगा नगरपालिका–स्थित थरुहट रंगशालामा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

आगामी फागुन १ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारीस्वरूप एन्फाका महासचिव किरण राई बिहीबार गाईघाट आइपुगी रंगशालाको स्थलगत निरीक्षण गरेका छन् । सोही क्रममा आयोजित पत्रकार सम्मेलनमार्फत उनले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेका हुन् ।

महासचिव राईका अनुसार यो प्रतियोगिता अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को अवधारणाअनुसार नेपालमा पहिलोपटक आयोजना हुन लागेको हो । पछिल्लो समय नेपाली महिला फुटबल टोलीले अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेकाले एन्फाले महिला फुटबलको विकासलाई लक्षित गर्दै यस्तो प्रतियोगितामा लगानी बढाएको उनले बताए ।

च्याम्पियनसिपमा आयोजक गाईघाट महिला टोलीसहित १० वटा टोली सहभागी हुनेछन् । प्रतियोगितामा गाईघाट, न्युरोड टिम काठमाडौं, एफसी रियल, नेपाल पुलिस क्लब, एपीएफ फुटबल क्लब, आरएस रिसोर्स, त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज युनाइटेड, छाहारी वाइसी तथा संकटा क्लब काठमाडौं सहभागी हुने तालिका सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा गाईघाट र न्युरोड टिम काठमाडौं आमनेसामने हुनेछन् ।

एन्फा उदयपुरका अध्यक्ष रञ्जन कार्कीले प्रतियोगितामा प्रीति राई र साम्बा बाहेकका अधिकांश राष्ट्रिय महिला फुटबल खेलाडीहरूको सहभागिता रहने जानकारी दिए । विभागीय टोलीहरू समेत सहभागी हुने भएकाले खेलस्तर उच्च र प्रतिस्पर्धात्मक हुने विश्वास खेलप्रेमीहरूले व्यक्त गरेका छन् ।

प्रतियोगिताको विजेताले ७ लाख ५० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार हात पार्ने एन्फाले जनाएको छ ।

Facebook Comments