सामाजिक सञ्जालमा फैलाइएको भ्रमप्रति उम्मेदवार चौधरीको आपत्ति

उदयपुर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उदयपुर क्षेत्र नम्बर १ का उम्मेदवार बलदेव चौधरीले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध फैलाइएको भ्रामक सूचनाप्रति गम्भीर आपत्ति जनाएका छन् ।

मंगलबार एक पत्रकार सम्मेलनमार्फत उनले ‘मोटिभेट न्यूज’ र ‘हाम्रो उदयपुर’ नामक सामाजिक सञ्जाल पेजबाट तथ्यहीन र मनगढन्ते सामग्री प्रकाशन गरी जनमत प्रभावित पार्ने प्रयास भएको आरोप लगाएका छन् । आफ्नो उम्मेदवारी लक्षित आधारहीन आरोप, कानुनी व्यवस्थाको गलत व्याख्या र जनतालाई भ्रमित बनाउने उद्देश्यले फैलाइएको सूचना पूर्णतः असत्य रहेको उनको दाबी छ ।

चौधरीले भ्रामक सामग्री तत्काल हटाई सार्वजनिक स्पष्टिकरण र क्षमायाचना गर्न माग गर्दै, यस्ता गतिविधि दोहोरिए कानुनी कारबाही अघि बढाइने चेतावनी दिएका छन् । साथै मतदाता र आम नागरिकलाई आधिकारिक तथा विश्वसनीय स्रोतबाट प्राप्त सूचनामा मात्र विश्वास गर्न अपिल गरेका छन् ।

सामाजिक सञ्जालमा फैलाइएको ‘विजय भए पनि संसदमा सहभागी हुन नपाइने’ भन्ने हल्ला गलत रहेको उल्लेख गर्दै संविधानअनुसार निर्वाचित प्रतिनिधिले संसदमा सहभागी हुने स्पष्ट अधिकार रहेको उनले प्रस्ट पारेका छन् ।

Facebook Comments