मलद्वारमा लुकाइ प्रतिबन्धित लागू औषध ल्याउने युवक पक्राउ

उदयपुर । उदयपुर प्रहरीले मलद्वारमा लुकाइ प्रतिबन्धित लागू औषध ल्याउँदै गरेका दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–७ का २४ वर्षीय पर्शुराम तिमल्सिना र सोही नगरपालिका–६ का २३ वर्षीय बिबेक राई (बिकि) रहेका छन् ।

इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले आईतबार साँझ करिब ५ बजे चौदण्डीगढी–४ पैतालिस चोक नजिकै पैदल हिँडिरहेका उनीहरूलाई शंका लागि नियन्त्रणमा लिएको थियो । त्यसपछि स्वास्थ्य परीक्षणका लागि नगर अस्पताल चौदण्डीगढीमा लगिएको र एक्स–रे परीक्षणपछि मलद्वारमा लुकाइएको ३३ एम्पुल लागू औषध फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीका अनुसार तिमल्सिनाबाट १५ एम्पुल र राईबाट १८ एम्पुल औषध अस्पतालको सहयोगमा सुरक्षितरूपमा निकालिएको हो । हाल पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय बेल्टारमा राखी लागू औषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments