चुरे संरक्षण क्षेत्रमा अवैध उत्खनन, १७ टिफर नियन्त्रणमा

उदयपुर । चुरे संरक्षण क्षेत्रभित्र अवैध माटो उत्खननमा संलग्न १७ वटा टिफर उदयपुरको चौदण्डीगढी नगरपालिका–४ कालीखोलाबाट नियन्त्रणमा परेका छन् । नेपाल प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले मङ्गलवार साँझ सो टिफरहरु पक्राउ परेको हो ।

स्थानीय केशव भुजेलको नम्बरी जग्गामा अवैध रुपमा उत्खनन भईरहेको खवर पाएपछि नगरपालिकाले प्रहरी बोलाएर टिफर नियन्त्रणमा लिएको वडाध्यक्ष लुङ्गराज राईले बताए । अध्यक्ष राईका अनुसार राष्ट्रिय गौरवको आयोजना निर्माणमा लगाउने भन्दै माटो उत्खनन गरेको पाइएपछि प्रहरी बोलाएर टिपर नियन्त्रणमा लिइएको हो ।

नगरको आग्रहपछि इलाका प्रहरी कार्यालय बेलटारबाट खटेको टोलीले उत्खननस्थलबाट १७ टिफर नियन्त्रणमा लिएको थियो । मङ्गलवार साँझ नियन्त्रणमा लिइएका सबै टिफर बुधबार नगरपालिकाको जिम्मा लगाएको इप्रका प्रमुख इन्स्पेक्टर बबिन राईले बताए । पक्राउ टिफरहरु अवैध उत्दननमा संलग्न भएको पाइएपछि नियन्त्रणमा लिनु परेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले बताए ।

उनले उदयपुर जिल्ला चुरे क्षेत्रभित्र पर्ने बताउँदै ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यान्वयन कार्यविधि’ले हरेक वर्षको जेठ ३१ देखि असोज १ गतेसम्म नदीजन्य पदार्थ उत्खनन, प्रयोग र बिक्री वितरण गर्न मनाही गरेको बताए । सो अवधिमा सरकारी, ऐलानी, पर्ती र व्यक्तिको जग्गासमेत उत्खनन गर्न नपाइने प्रावधान कार्यविधिले गरेको उनले बताए ।

राष्ट्रिय गौरवको आयोजनामा लगाउने बहानामा अवैध उत्खनन गर्ने काम भईरहेकाले टिफर नियन्त्रणमा लिइएको उनले बताए । नियन्त्रणमा परेका टिपररमाथि प्रदेश सरकारको आर्थिक ऐन २०८१ को अनुसूची ११ बमोजिम कारबाही हुने गरी प्रक्रिया सुरु गरिएको पनि हाकिम राईले बताए । माटो उत्खनन कार्य चौदण्डीगढी ७ स्थित बेल्टारकै सीताराम कन्स्ट्रक्सन प्रालिले गरिरहेको खुलेको छ ।

प्रालिले कञ्चनपुर–कमला पूर्वी खण्डको सडक निर्माण कार्य गर्ने ठेकेदार चाइना रेलवे न.२ इन्जिनियरिङ कम्पनी लिमिटेडका लागि माटो उत्खनन गरेको प्रारम्भिक जानकारी आए पनि नगरपालिकामा पूर्व जानकारी नभएको राईले बताएका छन् । उत्खननकर्ता सीताराम कन्स्ट्रक्सन सञ्चालक तेजनारायण साहले भने आफूले सबै कानुनी प्रक्रिया पुरा गरेर उत्खनन गर्न थालेको दावी गुरेका छन् ।

साहले सडक विभागअन्तर्गत एसियाली विकास बैँक (एडिबी)को आयोजना निर्देशनालयबाट गत असार ८ गते नै अनुमति लिएर सोही आधारमा माटो उत्खनन गरिरहेको दाबी गरे । चौदण्डीगढी ४ का भुजेलको ३८ कट्ठा जग्गामध्ये १५ कट्ठा क्षेत्रफल जमिनको प्रारम्भिक वातावरणीय अध्ययन (आईईई) पुरा गरेर उत्खनन गरेको बताउँदै साहले सुरुमा ६ हजार घनमिटर माटो निकाल्ने अनुमति लिएको दावी गरेका छन् । चौदण्डीगढी नगरप्रमुख कालुमान लामा भने पारिवारिक कामको सिलसिलामा नगरबाहिर रहेको बताइएको छ । उनी कार्यालय फर्केपछि टिफरमाथि अनुसन्धान गरी कारबाही अघि बढाउने नगरपालिकाले जनाएको छ ।

Facebook Comments