



उदयपुर । विद्यालय शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजामा उदयपुर जिल्लाले उल्लेखनीय प्रगति देखाएको छ । शिक्षा विकास तथा समन्वय इकाइ, उदयपुरका अनुसार नियमिततर्फ परीक्षा दिएका ५ हजार १ सय ७० जना विद्यार्थीमध्ये ३ हजुर ७ सय ८७ जना उत्तीर्ण भएका छन् । यसले जिल्लाको उत्तीर्ण प्रतिशत ७३.२५ रहेको देखाउँछ ।
इकाइ प्रमुख भवानीप्रसाद कट्टेलले दिएको जानकारी अनुसार, यो वर्ष जम्मा पाँच जना विद्यार्थीले ४ सय जिपिए ल्याएका छन् । यस्तै ३.६० देखि ४ सय जिपिए समूहमा ४ सय २८ विद्यार्थी परेका छन् । ३.२० देखि ३.६० जिपिए ल्याउने ९ सय ६४ जना छन् भने, २.८० देखि ३.२० जिपिए ल्याएर उत्तीर्ण गर्नेको संख्या १ सय ३ तिन ५ रहेको छ ।
त्यसैगरि जिल्लाका सामुदायिक विद्यालयमध्ये केहीले उत्कृष्ट नतिजा हात पारेका छन् । कटारी नगरपालिका–४ स्थित त्रिबेणी माध्यमिक विद्यालय, कटारीले ९० प्रतिशत सफलता दर हासिल गरेको छ । विद्यालयका १ सय ५५ जना सहभागीमध्ये शुभना दर्लामी मगरले ३.९८ जिपिए ल्याएर नगरस्तरमै उत्कृष्ट नतिजा ल्याएकी छिन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराज दाहालका अनुसार ३४ जनाले ए प्लस, २० जनाले ए, र ५६ जनाले बी प्लस ल्याएका छन् ।
यस्तै, दुर्गम पहाडी क्षेत्र लिमचुङबुङ गाउँपालिका–४ को क्याप्टेन पर्शुराम–पद्मा मावि, बलम्ताले पनि ९०.९० प्रतिशत नतिजा ल्याएर चकित पारेको छ । विद्यालयका २२ जना सहभागीमध्ये २० जना उत्तीर्ण भएका छन् । प्रधानाध्यापक ज्ञावनशेर राईले विगतको तुलनामा यो वर्ष विद्यालयको नतिजामा उल्लेखनीय उकास आएको बताए ।
यसैगरि जिल्लाको सदरमुकामस्थित त्रियुगा नमूना माविले यो वर्ष ५५ प्रतिशत सफलता दर हासिल गरेको छ । विद्यालयका २ सय ५६ सहभागीमध्ये १ सय ४० जना उत्तीर्ण भएका छन् । प्राविधिक धारका ४ सहित ६ जनाले ए प्लस ल्याएका छन् । प्रधानाध्यापक सुबास विष्टका अनुसार गत वर्षको ३२ प्रतिशत नतिजाबाट यो वर्षको सुधारले विद्यालयको सामर्थ्य देखाएको छ ।
विद्यालयको अनुसार शुक्रबार साँझ सार्वजनिक भएको नतिजाको विस्तृत विवरण लिन विद्यालयहरूले समय पाएका छैनन् । इकाइ प्रमुख कट्टेलका अनुसार शनिबार बिदा परेकाले र सर्भर समस्या देखिएपछि जिल्लाभरिका सबै विद्यालयको विवरण सङ्कलन गर्न नसकिएको बताए । विस्तृत विवरण आइतबारसम्म आउने अपेक्षा गरिएको छ ।
उदयपुर जिल्लाको अन्य सामुदायिक विद्यालयको नतिजा सन्तोषजनक देखिएको जनाइएको छ । यद्यपि निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको औसत नतिजा केही पछाडि भए पनि विगत वर्षको तुलनामा यो वर्ष सुधारमुखी रहेको शिक्षा इकाइले जनाएको छ ।
भिडियोः