अनुदान त पाउँछन्, तर बजार छैन : कृषकहरू (फोटो फिचर सहित)

उत्पादन त प्रशस्त छ, तर बजार छैन-यही विडम्बनामा छन् उदयपुरगढी गाउँपालिकाका कृषकहरू । सरकारले विभिन्न शीर्षकमा अनुदान दिएर कृषकलाई तरकारी तथा फलफूल उत्पादनमा प्रोत्साहित गरे पनि उत्पादित वस्तु कहाँ बेच्ने भन्ने प्रश्नले उनीहरूलाई दिनहुँ पिरोलिरहेको छ ।

स्थानीय किसानहरुका अनुसार बारीमा तरकारी पाकेर कुहिन थालेको छ, खेतमा फलफूल पाके पनि बेच्ने ठेगाना छैन । “बारीमा फलफूल पाकिरहेको छ, बजार नभएपछि थन्किनु र कुहिनु बाहेक विकल्प छैन,” उदयपुरगढी-६ का किसान ढकबहादुर राउतले भने, “दिनभरिको मेहेनतपछि केही पाइने आशा थियो, अब त खेर जाने डर लाग्न थाल्यो ।”

कृषकहरूले उत्पादन गरेका काँक्रा, लौका, तरबुजा, काक्रो, काउली, टमाटरजस्ता तरकारी र फलफूलको उचित बजार नहुँदा गम्भीर समस्या निम्तिएको छ । कति किसान त उत्पादन बिक्री नहुँदा निराश भएर बारीमै सुतेर दिन कटाउने अवस्था आइपुगेका छन् ।

बजार व्यवस्थापनको खाँचो

गाउँपालिकाले मल, बिउ, प्रविधि र तालिममा अनुदान दिने गरेको छ । तर, उत्पादनपछि बजारको सुनिश्चितता नहुनु स्थानीय तहको योजनाविहीनताको प्रतिविम्ब हो भन्ने आवाज चुलिएको छ ।

स्थानीय कृषकहरू बजार व्यवस्थापन र सहकारीमार्फत क्रेता-बिक्रेता जोड्ने प्रणाली विकास गरिनुपर्नेमा जोड दिन्छन् । “यदि बारीको फल बजारसम्म लैजान सक्ने व्यवस्था हुन्थ्यो भने कृषकको जीवनस्तर पनि उकासिन्थ्यो,” स्थानीय अर्का कृषक सविना मगरले भनिन् ।

कृषि नीतिमा पुनर्विचारको आवश्यकता

कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख योगेन्द्र प्रसाद यादव भन्छन्, उत्पादनलाई प्राथमिकता दिनु राम्रै हो, तर उत्पादनपछि वितरण र बजारिकरणको रणनीति पनि समान रूपमा आवश्यक हुन्छ । कृषकको उत्पादनले मूल्य नपाउँदा उनीहरूको मनोबल कमजोर हुन्छ र कृषि पेशाबाट विमुख हुने खतरा रहन्छ ।

अब समय आएको छ – अनुदान मात्र हैन, स्थायी बजार सञ्जाल र मूल्य स्थिरताको सुनिश्चिततासहितको कृषि नीति अवलम्बन गर्ने।

तस्बिर: उदयपुरगढी गाउँपालिका वडा नम्बर ६ नेपालटार बजारमा सुतेर ग्राहक कुर्दै एक तरकारी व्यापारी ।
Facebook Comments