उदयपुरमा लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध विभिन्न कार्यक्रम गरिन्दै

नयन राई
उदयपुरमा लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय सप्ताहव्यापी दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरी मनाइने भएको छ । सो दिवस असार ६ गतेदेखि १२ गते अर्थात जुन २० देखि २६ सम्म मनाइने छ ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलका अनुसार सप्ताहको पहिलो दिन असार ६ गते जिल्ला प्रशासन कार्यालयको सभाहलमा सरोकारवाला निकायहरूको सहभागितामा अन्तरक्रिया कार्यक्रम गरी सप्ताहको औपचारिक शुभारम्भ गरिएको छ । असार ७ गते त्रियुगा, बेलका र कटारी नगरपालिकाका विभिन्न विद्यालय र कलेजहरूमा लागूऔषध विरुद्ध सचेतना कक्षा सञ्चालन गरिनेछ ।

असार ८ देखि ११ गतेसम्म त्रियुगा र बेलका नगरपालिकामा रहेका दुईवटा लागूऔषध उपचार तथा पुनर्स्थापना केन्द्रहरूको विवरण, उपचारार्थी संख्या, निको भएर घर फर्किएकाहरूको तथ्यांक संकलन तथा सार्वजनिक गरिने कार्यक्रम तय गरिएको छ । त्यस्तै, असार १० देखि १२ गतेसम्म लागूऔषध ओसारपसार हुने सम्भावित सीमा नाकाहरू—जस्तै त्रियुगाको लालपत्ता नाका, बेलकाको चतरा कोठु नाका, कटारीको सिन्धुली सिमराही र सिरहा जोड्ने बेलस्रोत नाकाको निरीक्षण गरिनेछ ।

असार ११ गते लागूऔषध दुर्व्यसनमुक्त समाज निर्माणमा युवा र समाजको भूमिकाबारे मावि तहको वक्तृत्वकला प्रतियोगिता तथा त्रियुगा जनता बहुमुखी क्याम्पसमा अनुशिक्षण कार्यक्रमसमेत सञ्चालन गरिने छ । सप्ताहको अन्तिम दिन असार १२ गते गाईघाटको पिपल चोकबाट नगर परिक्रमा गरी दिवसको समापन गरिने प्रमुख जिल्ला अधिकारी लुइटेलले बताए ।

Facebook Comments